२ श्रावण २०८३, शनिबार

वर्षमान पुनसँग कुराकानी गर्न सचेत हुनुपर्ने देखियो : शंकर पोखरेल

5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनसँग भएको फोन वार्तालाई पुनले ‘याचना’को रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।

फेसबुकमा एक स्टाटस लेख्दै महासचिव पोखरेलले दुई नेताबीच भएको शिष्टाचारपूर्ण कुराकानीलाई पुनले ‘याचना’ को रूपमा प्रचार गरेको भन्दै आपत्ति जनाएका हुन् ।

‘नेताहरुका बीचमा शिष्टाचारवस हुने कुराकानीलाई वर्षमानजीले एमाले महासचिवको याचना भनेर प्रचारवाजी गर्नुभएछ । अब त उहाँसँग अनौपचारिक कुराकानी गर्न पनि सचेत हुनुपर्ने पो देखियो ।’ महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलका अनुसार पार्टीको जिम्मेवार नेताले विभिन्न सवालमा आवश्यकता अनुसार विभिन्न व्यक्ति र पक्षसँग अनौपचारिक कुराकानी गर्ने गर्छन् । तर यस्ता अनौपचारिक कुराकानी सार्वजनिक गर्नु उचित नहुने उनको भनाइ छ ।

‘पार्टीको जिम्मेवार नेताले कतिपय सवालमा समय समयमा आवश्यक ठानिएका व्यक्ति र पक्षसँग अनौपचारिक रुपमा कुरा गर्दछ । अनौपचारिक रुपमा गरिएका कुरा सार्वजनिक खपतका विषय नहुन सक्दछन् । त्यस्ता कुराकानीलाई सार्वजनिक गर्नु उचित मानिँदैन । महासचिव पोखरेलले भने, ‘उहाँले के उद्देश्यले त्यसो गर्नु भो स्पष्टै छ । तर त्यसले उहाँलाई र उहाँको पार्टीलाई नै नोक्सान हुने कुरा हो । जहाँसम्म उहाँसँग भएको कुराकानी सम्प्रेषित समाचारको स्प्रिट पूर्णतः फरक छ । मसँग उहाँले गरेको कुराकानी र सम्प्रषित समाचार पूर्णतः फरक पनि छ । तर अहिले म त्यो विषयमा चर्चा गर्नु उचित पनि ठान्दिन ।’

महासचिव पोखरेलले सहयोग वा याचना गर्नुपरेको भए माओवादी अध्यक्ष पुष्पकमल दाहालमार्फत नै गरिने स्पष्ट पारेका छन् । उनले संक्रमणकालीन न्यायको विषयमा पनि यस्तै प्रक्रिया अपनाइएको उल्लेख गरेका छन् ।

‘वास्तवमा वर्षमानजीले सार्वजनिक गरेजस्तै सहयोग र याचना गर्नुपर्ने आवश्यकता भएको भए उहाँसँग होइन सिधै माओवादी अध्यक्ष पुष्पकमल दाहाल मार्फत नै हुने थियो । आवश्यक ठानिएको विषयमा अहिले पनि हुँदै पनि आएको छ । जस्तो संक्रमण कालिन न्यायको विषयमा ।’ महासचिव पोखरेलको भनाइ छ ।

यसैगरी, महासचिव पोखरेलले राजनीतिक ध्रुवीकरणको सन्दर्भमा विगतमा नेताहरूको टाउको जोडेर गरिएको पार्टी एकता असफल भएको टिप्पणी गरे । ‘जहाँसम्म वर्षमानजीलाई फोन गरेकै कारणले बलियो राष्ट्रिय शक्ति निर्माणको आवश्यकता र औचित्य खण्डित भएको माओवादीका नेता कार्यकर्ताको प्रचारबाजी बचकनापन बाहेक केही होइन । त्यस प्रकारको विचारप्रति सहानुभूती मात्र प्रकट गर्न सकिन्छ ।’ पोखरेलले भने, ‘जहाँसम्म राजनीतिक ध्रुविकरणका सन्दर्भमा त्यसप्रति नेकपा (एमाले)को नीति स्पष्ट छ । विगतमा नेताका टाउका जोडेर गरिएको पार्टी एकता असफल भयो । अब पुनः त्यही काम गर्नु उचित हुँदैन । कार्यकर्ताका मन जोडेर बलियो कम्युनिष्ट आन्दोलको निर्माण अबको बाटो हो । वर्षमानजीलाई फोन गर्नुको अन्तर्य त्यसका लागि वातावरण तयार गर्नु पनि त हुन सक्दछ ।’

महासचिव पोखरेलले बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक ध्रुवीकरणको माध्यमबाट हुने र यसले साना दलहरूलाई संवैधानिक र कानूनी रूपमा निषेध नगर्ने पनि स्पष्ट पारेका छन् ।

‘बलियो राष्ट्रिय शक्तिको निर्माण राजनीतिक धुविकरणको बाटोबाट हासिल गरिने विषय हो । अहिलेको हंग पार्लियामेन्ट भित्रको धेरै दलसंगको सहकार्यले त्यसको औचित्य खण्डित हुँदैन । बरु त्यसको महत्वलाई वर्तमान घटनाक्रमले झनै पुष्टि गरेको छ ।’ महासचिव पोखरेलले भने ।