३० जेष्ठ २०८३, शनिबार

शाइन रेसुङ्गा रन फागुनमा

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ माघ । शाइन रेसुङ्गा नेश्नल टेन के रन प्रतियोगिता फागुनको ११ गते आयोजना हुने भएको छ । शाइन रेसुङ्गा डेभलोपमेन्ट बैंकले शनिबार रुपन्देहीको बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताबारे जानकारी गराएको हो ।

‘रन टू शाइन’ भन्ने नाराका साथ आयोजना गर्न लागिएको प्रतियोगिता रुपन्देहीको बुटवलमा आयोजना गरिनेछ । राष्ट्रियस्तरका धावक सहभागि हुने प्रतियोगितामा महिला/पुरुष खुल्ला, स्थानीय र ५० वर्षमाथि गरी तीन विधा समावेश गरिएको छ । प्रतियोगिताको पुरस्कार राशी ५ लाख रुपैयाँ रहेको छ ।

खुल्लातर्फको महिला/पुरुष विजेताले एक लाख रुपैयाँ प्राप्त गर्नेछ । एथलेटिक्सको १० किलोमिटर विधामा राखिएको रकम नेपालकै सर्वाधिक पुरस्कार रकम समेत हो । खुल्लातर्फ दोस्रो हुनेले ४० हजार, तेस्रो हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाँचौं हुने धावकले १० हजार रुपैयाँ प्राप्त गर्नेछ । स्थानीय र ५० वर्षमाथिको विधाका विजेताले १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार, चौथोले २ हजार ५ सय रुपैयाँसहित मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।

इच्छुक सहभागिले शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको वेबसाइटमा गएर निःशुल्क नाम दर्ता गर्न सक्नेछन् । बुटवलस्थित बैंकको केन्द्रीय कार्यालयमा समेत भौतिक रुपमा फारम भरि नाम दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोजकले जनाएको छ ।

बुटवल कालिकानगरस्थित बैंकको केन्द्रीय कार्यालयबाट सुरु हुने दौड मणिग्राम चोकमा पुगेर पुन केन्द्रीय कार्यालय परिसरमै पुगेर समापन हुनेछ । राष्ट्रिय खेलकुद परिषद् र नेपाल एथलेटिक्स संघको स्वीकृतिमा सञ्चालन हुने प्रतियोगिताको अपरेसन र व्यवस्थापन कखरा इभेन्टले गर्नेछ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पौडेलले खेलकुदमार्फत समाज र राष्ट्रलाई योगदान पुर्‍याउने उद्धेश्य अनुरुप दौड प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । ‘काठमाडौं बाहिर केन्द्रीय कार्यालय राखेर एकमात्र बैंकको सफल रुपमा सञ्चालन गर्दै आएकौ छौँ । राष्ट्रियस्तरको कार्यक्रममार्फत खेलकुद र समाजप्रति उत्तरदायित्व पूरा गर्ने अवसरको रुपमा यसलाई लिएका छौँ ।’ पत्रकार सम्मेलनमा उनले भने । सिईओ पौडेलले कार्यक्रमलाई वार्षिक ईभेन्टको रुपमा अघि लैजाने योजना रहेको सुनाएका थिए ।