२० असार २०८३, शनिबार

केजरीवालको पराजयपछि मुख्यमन्त्री कार्कीले भने– पपुलिस्ट राजनीति क्षणिक हुन्छ

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २६ माघ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भारतको दिल्ली विधानसभा निर्वाचनमा अरविन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टी (आप)को पराजयलाई लिएर टिप्पणी गरेका छन् । मुख्यमन्त्री कार्कीले केजरीवालको पपुलिस्ट प्रवृत्तिको आलोचना गर्दै राजनीतिमा दर्शन, सिद्धान्त र आर्थिक कार्यक्रमको महत्व औंल्याएका हुन् ।

‘राजनीतिमा दर्शन, सिद्धान्त, विचार र आर्थिक कार्यक्रमको सर्वाधिक महत्त्व हुन्छ । कुनै पनि समाजलाई रुपान्तरण गर्न सक्रिय हुने राजनीतिक पार्टीको त सर्वाधिक वैज्ञानिक दर्शन, सिद्धान्त, विचार र आर्थिक कार्यक्रम हुनुपर्छ ।’ फेसबुकमा लेख्दै मुख्यमन्त्री कार्कीले भनेका छन्, ‘आजको दुनियाँमा र हाम्रो जस्तो लोकतान्त्रिक शासन प्रणाली भएको देशमा अनुशासित, आचरण युक्त र प्रजातान्त्रिक संस्कार नेताकार्यकर्ता हुनु पर्दछ ।’

उनले लोकतान्त्रिक शासन प्रणालीमा अनुशासित र प्रजातान्त्रिक संस्कार भएका नेताकार्यकर्ता हुनुपर्ने बताए । ‘न्यूनतम कार्यक्रम र चरित्र हुनु नै पर्दछ । त्यो बाहेकको राजनीति फगत स्टण्ड मात्रै हुन् । अझ पपुलिस्ट हुन र कहिले काहीँ जनताका असतुष्टिलाई भजाएर वा नेगेटिभ भोटमाथि चढेर एकाध ठाउँमा कहिले काहीँ केही व्यक्ति र दर्शन सिद्धान्त नभएका व्यक्ति र पार्टी जित्न सक्छन् । ती कुरा केवल क्षणिक हुन् । अथवा मूलधारका पार्टी र नेतामाथि घेराबन्दी गरिए पछि वा कहिले काहीँ मूलधारका पार्टीहरु चुकेका बेला देखिन सक्छन् ।’ मुख्यमन्त्री कार्कीले भने, ‘यस्ता सस्ता र फण्डावालहरु अस्थायी फेनामेना हुन् ती केही दिनमा बिदा हुन्छन् नै यस निम्ति हाम्रा मूलधारका पार्टीहरु पनि आफ्नो वस्तुनिष्ठ समीक्षा गर्दै अघि बढनु पर्दछ । दह्रो र सतिसाल भएर उभिए पछि स्टण्डबाहक नकारात्मक पात्र प्रवृत्तिहरु टिक्ने छैनन् ।

मुख्यमन्त्री कार्कीले दिल्लीका पूर्वमुख्यमन्त्री केजरीवाल र उनको आम आदमी पार्टीलाई यस्तै प्रवृत्तिको उदाहरणको रूपमा टिप्पणी गरेका हुन् । ‘भर्खरै सम्पन्न भएको मित्र राष्ट्र भारतको दिल्ली विधानसभाको निर्वाचन यसको ज्वलन्त नमुना हो । करिब १ दशकको दिल्लीका पाहुना केजरीवाल र आम आदमी पार्टी केवल उदाहरणका निम्ति प्रवृत्ति र पात्र हुन् ।’ मुख्यमन्त्री कार्कीले भने ।

मुख्यमन्त्री कार्कीले जनताको असन्तुष्टि र नकारात्मक भोटमा टेकेर जित्ने प्रवृत्ति क्षणिक हुने टिप्पणी गर्दै नेपालका मूलधारका राजनीतिक दलहरूलाई पनि आत्मसमीक्षा गर्दै अघि बढ्न सुझाएका छन् ।

मुख्यमन्त्री कार्कीका अनुसार दह्रो र सतिसाल जस्तै भएर उभिएपछि मात्र नकारात्मक प्रवृत्तिहरू समाप्त हुनेछन् ।