२ असार २०८३, मंगलबार

उदयपुरमा केपी ओली कप प्रचारात्मक फुटसल प्रतियोगिता सम्पन्न

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–अन्जनी कुमार अधिकारी

उदयपुर, २५ माघ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आउँदो फागुन ११ गतेदेखि १९ गतेसम्म हुने केपी ओली कप फुटबल प्रतियोगिताको तेस्रो संस्करणको प्रचारप्रसारका लागि राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी उदयपुरले ‘केपी ओली कप प्रचारात्मक कमरेड खुला फुटसल कप प्रतियोगिता–२०८१’ सम्पन्न गरेको छ ।

शुक्रबार जिल्लाको चौदण्डीगढी नगरपालिकास्थित सशस्त्र प्रहरी बल बेस क्याम्प बेल्टारमा रहेको फुटसल मैदानमा प्रतियोगिता सम्पन्न गरेको हो । प्रतियोगितामा न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरी, बेल्टार युनाइटेड क्लब उदयपुर, बसाहा क्लब उदयपुर, एपिएफ उदयपुर, केवाईसी क्लब उदयपुर, ११ स्टार बोक्से उदयपुर, नेपाल पुलिस उदयपुर, सुनाखरी युथ क्लब बेलका उदयपुरबीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता न्यू त्रियुगा स्पोट्र्स क्लब सप्तरीले जितेको थियो भने प्रतियोगितामा बेल्टार युनाइटेड क्लब उदयपुर दोस्रो भएको थियो । प्रतियोगिताको विजेताले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त प्राप्त गरेको थियो भने उपविजेताले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल, र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रतियोगिताको उद्घाटन राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राकेश राई र चौदण्डीगढी नगरपालिकाका मेयर कालुमान लामाले संयुक्त रुपमा गरेका थिए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय कोषाध्यक्ष राईले केपी ओली कप फुटबल प्रतियोगिताले युवाहरुलाई फुटबल खेलसँगै अन्य खेलकुदमा लाग्न प्रोत्साहन गर्ने बताए । राईले युवालाई खेलप्रतिको आकर्षणका लागि पनि यस किसिमको प्रतियोगिता आयोजना गरिएको जिकिर गरे ।

खेलकुद क्षेत्रमा ‘समस्या हैन, सम्भावना छ’ भन्ने कुरालाई उजागर गर्दै युवा संघले दुई वर्ष अगाडिदेखि केपी ओली कप फुटबल सुरु गरेको थियो । अहिले यो प्रतियोगिताको प्रचारप्रसारका लागि उदयपुरमा ‘प्रचारात्मक कमरेड खुला फुटसल कप’को आयोजना गरिएको राष्ट्रिय युवा संघ नेपाल उदयपुरका सचिव अनुपराज खत्रीले जानकारी दिए ।