२९ जेष्ठ २०८३, शुक्रबार

सत्ता बाहिर प्रचण्डको छटपटी उदेकलाग्दो : अग्नि खरेल

994
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, २५ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री अग्नि खरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता बाहिर बस्नलाई असाध्यै गार्‍हो भइरहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सत्ता बाहिर बस्दा प्रचण्डको छटपटी उदेकलाग्दो भएको टिप्पणी गरे । ‘सत्ता बाहिर बस्दा कति गार्‍हो भएको रहेछ भन्ने पुष्टि प्रचण्डले भर्खरै संसद्मा बोलेरै गर्नुभएको छ’ नेता खरेलले भने, ‘उहाँले अब सत्तामा जान पनि नसक्ने आफ्नै अभिव्यक्तिहरुबाट बताइरहनुभएको छ ।’

पत्रकार सम्मेलनमा नेता खरेलले प्रचण्ड सामाजिक एवम् राजनीतिक वातावरणलाई भाँडभैलो बनाउन क्रियाशील रहेको आरोप लगाए । उनले सरकारले आवश्यकताकै आधारमा अध्यादेश ल्याएको बताए । ‘सरकारले जनताको सुविधाको लागि ल्याएको अध्यादेश पास गरेर जान सक्छ,’ उनले भने । संविधान बमोजिम अध्यादेश ल्याउन सकिन्छ । संविधान नमान्नेहरुले मात्रै अध्यादेश ल्याउन नमिल्ने तर्क गर्न सक्ने उनको धारणा थियो ।

यस्तै, नेता खरेलले परिवार र समाजलाई ध्वस्त हुनबाट जोगाउन सामाजिक सञ्जाल विद्येयक आवश्यक भएको बताए । त्यसमा भएका व्यवस्थाहरु, सजाय र जरिवानाहरु छलफलबाट बढाउन वा घटाउन सकिने तर्क उनले गरे ।

रास्वपा सभापति रवि लामिछानेमाथिको निलम्बन फुकुवाबारे पत्रकारहरुको जिज्ञासामा जवाफ दिँदै उनले सभामुखको निर्णय ठिक भएको प्रतिक्रिया दिएका छन् । ‘सभामुखले नियम बमोजिम गर्नुभएको हो, उहाँहरु (रास्वपा) दबाब सिर्जना गरेर निलम्बन फुकुवा गर्न खोज्दै हुनुहुन्छ,’ उनले भने । दबाबको बाटो छोडर कानुनी बाटो रोज्न उपयुक्त हुने सुझाव उनको छ ।