
काठमाडौं, २५ माघ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)स्थित औद्योगिक तथा व्यापारिक गतिविधिहरूको अवलोकन र केही विशेष परियोजनाहरूको उद्घाटन गरेका छन् ।
आज उनले २ मेगावाट क्षमताको सोलार प्लान्ट उद्घाटन गरेका हुन् । नवलपरासीको रामग्रामस्थित अरुण वेभरेज प्रालिमा २ मेगावाटको सौर्य ऊर्जा प्लान्टको उद्घाटन गर्दै मन्त्री भण्डारीले स्वच्छ र नविकरणीय ऊर्जाको प्रवर्द्धन तथा विकास गर्न सरकार कटिबद्ध रहेको बताए । यसले स्वदेशी उत्पादनमा जोड दिनुका साथै ऊर्जा आत्मनिर्भरता हासिल गर्ने दिशामा यो एक महत्वपूर्ण कोसेढुंगा सावित हुने उनले बताए ।

यसैगरी, मन्त्री भण्डारीले समृद्धि स्टिल प्याक्ट्रीको अवलोकन गरेका छन् । उद्योग क्षेत्रको सम्भाव्यता, उत्पादनशीलता र रोजगारी सिर्जनासम्बन्धी प्रत्यक्ष जानकारी लिन स्टिल प्याक्ट्रीको अवलोकन गर्दै उनले औद्योगिकीकरणलाई तीव्रता दिन आवश्यक नीतिगत सुधार तथा पूर्वाधार निर्माणका विषयमा उद्योगपतिहरूसँग छलफल गरे । छलफलमा क्रममा मन्त्री भण्डारीले उद्योगसम्बन्धी नीतिगत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे । उद्योगमैत्री नीति बनाउने बताउँदै उनले आगामी बजेट उद्योगीको हकहितमा विननियोजन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
यसैगरी, मन्त्री भण्डारीले लक्ष्मी ह्युन्डाइ एसेम्बलिङ्ग प्लान्टको अवलोकन गरे । उनले स्वदेशमै सवारी साधन एसेम्बल गरी आयात प्रतिस्थापन गर्नुपर्नेमा जोड दिए। उनले नेपालमा गाडी निर्माण तथा एसेम्बलिङ उद्योगको विस्तारले मुलुकको औद्योगिक विकासलाई थप गति दिने विश्वास व्यक्त गरे ।









प्रतिक्रिया