३० असार २०८३, मंगलबार

१० महिना कैद भुक्तान गरेका युवक ठगी मुद्दामा फेरि पक्राउ

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ माघ । ‘अनलाइन’ ठगी कसुरमा गत वर्ष १० महिना कैद भुक्तान गरी छुटेका एक युवक अनलाइन ठगी मुद्दामा बुधबार पुनः पक्राउ परेका छन् ।

विसं २०८० मंसिरमा कैद भुक्तान गरी छुटेका रौटहतको माधवनारायण गाउँपालिका–२ का २१ वर्षीय सुभम साह अभौतिक मुद्रा तथा अनलाइन ठगीमा संलग्न रहेको अवस्थामा पक्राउ परेका हुन् ।

उनले विभिन्न ‘डिजिटल वालेट’को कर्मचारी भएको र ‘वालेट आइटी’ बैङ्क खातासँग ‘लिङ्कअप’ तथा नवीकरण, ग्राहक पहिचान फारम अद्यावधिकलगायत कार्य गरिदिन्छु भन्दै सर्वसाधारणको वालेटमा अनधिकृत पहुँच पुर्‍याइ रकम ठगी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनले अनलाइन ठगी गरेको रकम ‘टेलिग्राम’मा विभिन्न व्यक्तिमार्फत ‘क्रिप्टो करेन्सी’ साट्न प्रयोग गर्ने गरेको अनुसन्धानका क्रममा खुलेका ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । प्रारम्भिक अनुसन्धानका क्रममा साह विभिन्न चारवटा अनलाइन ठगी मुद्दामा फरार रहेको पाइएको छ । प्रहरीले उनका साथबाट ‘मोबाइल’ दुई थान, नेपाली र भारतीय ‘सिमकार्ड’ १६ थान र सवारीधनी पुर्जा एक थान बरामद गरेको छ ।

‘खाता विवरण शेयर नगरौँ’

यसैबीच, ब्यूरोले अनलाइन ठगी हुनबाट बच्न आफ्नो वालेट तथा बैङ्क खाताको विवरण र प्राप्त ‘ओटिपी पासवर्ड’ कसैसँग पनि ‘शेयर’ नगर्न आग्रह गरेको छ । अनलाइन ठगीका घटना बढोत्तरी भएसँगै ब्यूरोले अपरिचित व्यक्तिबाट आएको ‘फोन’ तथा लिङ्क विश्वासमा परी ‘क्लिक’ नगर्न र आफ्नो विवरण शेयर नगर्न आग्रह गरेको हो ।