७ असार २०८३, आइतबार

एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा छ : योगेश भट्टराई

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० माघ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले एमाले अभिव्यक्ति र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल मकवानपुरको जिल्ला अधिवेशन उद्घाटन कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै भट्टराईले एमालेले यी कुरामा कुनै पनि दखल अन्दाजी नगर्ने स्पष्ट पारे । ‘नेकपा एमाले अभिव्यक्ति स्वतन्त्रताको पक्षमा छ, नागरिक अधिकारको पक्षमा छ, मौलिक हकको पक्षमा छ, नागरिकको सहज सूचनाको हक र पहुँचको पक्षमा छ’, उनले भने ।

सामाजिक सञ्जाल र सञ्चारमाध्यम मर्यादित र व्यवस्थित भने हुनुपर्नेमा उनले जोड दिए । सरकाले अहिले राष्ट्रिय सभामा पेस गरेको सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संवैधानिक व्यवस्था अनुसार सामाजिक सञ्जाललाई व्यवस्थित गर्न ल्याएको उनले बताए ।

सामाजिक सञ्जाल राष्ट्र र व्यक्तिको हितको पक्षमा हुनुपर्नेमा उनले जोड दिए । सामाजिक सञ्जाल सामाजिक एकता सुदृढ गर्ने र देशको समृद्धिको पक्षमा हुनुपर्ने उनले बताए । ‘सामाजिक सञ्जाल राष्ट्रको हितमा होस्, व्यक्तिको हितमा होस्, व्यक्तिको व्यक्तित्व बनाउने कुरामा प्रयोग होस्, समाजको एकता सुदृढ गर्ने कुरामा होस्, यो देशको समृद्धिको पक्षमा होस्, हामी त्यो अपेक्षा गर्दछौँ’, भट्टराईले भने ।

सामाजिक सञ्जालले सामाजिक एकता नभत्काओस्, सामाजिक सद्भाव नभत्काओस्, कुनै व्यक्तिको मान मर्दन नगरोस् भन्ने विषयमा सचेत हुनुपर्नेमा उनले जोड दिए । ‘हामीले सामाजिक सञ्जाललाई नियमन गर्न खोजेको हो, नियन्त्रण होइन’, भट्टराईले भने ।