
रौतहट, १९ माघ । रौतहटको गौरमा रहेको यातायात व्यवस्था कार्यालय विभिन्न शीर्षकमा चार करोड ६६ लाख ९७ हजार ३ सय ४७ रुपैयाँ राजश्व संकलन गरेको छ । यातायात व्यवस्था कार्यालय गौरले २०८१ साल साउन १ गतेदेखि माघ १८ गते सम्मको राजश्व विवरण सार्वजनिक गरेको हो ।
विवरण अनुसार यातयात क्षेत्रको आम्दानी १३ लाख ६१ हजार ३ सय १८, सवारी साधन कर २ करोड ९९ लाख ५२ हजार २ सय ३३ रुपैयाँ, चालक अनुमति पत्र सवारी दर्ता किताबसम्बन्धी दस्तुर १ करोड ५३ लाख ८३ हजार ७ सय १६ रुपैयाँ राजश्व संकलन भएको छ । यस अवधीमा अन्य प्रशासनिक सेवा शुल्क, अन्य राजश्व, बेरुजु, व्यवसायिक रजिष्टेशन दस्तुरको शीर्षकबाट राजश्व संकलन नभएको कार्यालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
२०७९ साल फागुन १८ गते यातायात व्यवस्था कार्यालय गौरमा स्थापना भएको हो । कार्यालयबाट सवारी चालक अनुमति पत्र जारी तथा नवीकरण, सवारी किताब दर्ता तथा नवीकरण लगायतका सेवा प्रदान गर्दै आएको छ ।
विशेषगरी सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि बर्दिबास, जनकपुर, वीरगञ्ज लगायत ठाउँमा जानुपर्ने बाध्यता रहेको थियो । गौरमा नै यातायात व्यवस्था कार्यालय खुलेपछि सहज भएको स्थानीयहरु बताउँछन् ।
यातयात व्यवस्था कार्यालय गौरका प्रमुख जितेन्द्र किशोर गुप्ताका अनुसार सवारी चालक अनुमति पत्रका लागि कार्यालयले नियामनुसार नै लिखित तथा प्रयोगात्मक परीक्षा संचालन गर्दै आएको छ । प्राय: सवारी चालक अनुमति पत्र नवीकरण वा नयाँ बनाउनका लागि आउने सेवाग्राहीको कार्यालयमा भीड रहने गरेको उनको भनाई छ ।
गौरमा यातायात व्यवस्था कार्यालय स्थापना भएपछि उल्लेखनियले सेवा पाउनुका साथै राजश्वमा समेत वृद्धि भएको जनाएको छ । मधेश प्रदेशका प्राय सबै जिल्लामा यातायात व्यवस्था कार्यालय स्थापना भएको छ ।








प्रतिक्रिया