
रामेछाप, १९ माघ । नेकपा (एमाले)को संगठन विभाग सचिव माधव ढुंगेलले एमाले पार्टीमाथि निरन्तर आक्रमण भइरहेको बताएका छन् ।
शनिबार एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा बोल्दै ढुंगेलले एमालेमाथि गरिएको नियोजित दुष्प्रचारको प्रतिवाद गर्न आवश्यक रहेको बताए । एमाले अध्यक्ष केपी ओलीमाथि पत्याउनै नसक्ने र पुष्टि हुन नसक्ने आरोपहरू लगाउँदा एमाले कार्यकर्ता मौन बस्न नसक्ने उनले स्पष्ट पारे । ‘मिस इन्फरमेसन र डिस इन्फरमेशन चिर्न सक्ने पार्टी कार्यकर्ता आजको आवश्यकता हो, पार्टी नेतृत्वको रक्षा गर्नु कार्यकर्ताको दायित्व हो’, उनले भने ।
५ लाख बढी सदस्य भएको पार्टीका विरुद्ध साना साना झुण्डले सामाजिक सञ्जालमार्फत गरेको आक्रमण सफल नहुने ढुंगेलले बताए । अहिले देशमा ठग र उनीहरूलाई संरक्षण गर्नेहरूको ठूलो स्वर देख्दा चकित हुनुपर्ने स्थिति रहेको उनले सुनाए । ‘रवि लामिछाने जस्तो ठग जेल बाहिर एक जना पनि छैन, तैपनि उनीहरूकै स्वर ठूलो छ’, ढुंगेलले भने ।

राजनीतिमा कुनै लगानी नभएका अपराधपूर्ण मानसिकताले ग्रस्त भएका व्यक्ति अहिले राजनीतिक आवरणमा आएका ढुंगेलले बताए । यसको वास्तविकता नागरिकलाई बताइदिनु पर्ने ढुंगेलको भनाई छ ।
पार्टी विचार र दृष्टिकोण व्यक्तिभन्दा बाहिर नरहेको उनले बताए । ढुंगेलले मानव सर्वोच्चताको सिद्धान्त नै मार्क्सवाद भएको बताए । ‘मान्छे स्वचालित प्राणी मात्र होइन, मान्छेसँग चेतना मात्र छैन, चिन्तन पनि गर्छ’, उनले भने ।
ढुंगेलले पार्टी सिष्टम भित्र चल्नु पर्ने बताए । पार्टीको बन्द छलफलमा असन्तुष्टि राख्ने सकिने भए पनि बाहिर पार्टी र नेताहरूको विरुद्ध जथाभाबी बोल्ने कम्युनिष्ट पार्टीमा नअटाउने उनले प्रष्ट पारे । पार्टीलाई अराजकताको भिडबाट जोगाउनु पर्ने ढुंगेलले बताए ।

‘पार्टीलाई असर गर्ने कुरा कुनै पनि पार्टी सदस्यले बोल्नु हुँदैन’, उनले भने । कस्तुरीले आफ्नो वीणा खोजे जस्तै मानिस आफ्नो मस्तिष्कको उपयोग नगरी सुख खोज्न बाहिर दौडिरहेको उनले बताए । त्यही मानव सर्वोच्चताको विश्लेषण गर्ने सिद्धान्त मास्कवाद भएको ढुंगेलले प्रष्ट पारे ।
‘संसार बदल्ने क्षमता मानिसले राख्छ, त्यो मानिसलाई बदल्ने क्षमता मार्सवादले राख्छ, त्यसैले मार्क्सवाद समाज परिवर्तनको सिद्धान्त हो, नेकपा एमाले समाज परिवर्तन गर्ने पार्टी हो’, उनले भने । देशले अब राजनीतिक स्थायित्व खोजेको बताउँदै ढुंगेलले त्यो पूरा गर्ने पार्टी एमाले मात्रै भएको बताए । ‘६/६ महिनामा सरकार फेर्दा काम गर्न सकिएन, नागरिकमा निराशा बढ्यो, त्यसैले एमालेको दृष्टिकोण राजनीतिक स्थिरता हो, त्यसको लागि एकल बहुमतको सरकारको आवश्यकता हो’, उनले भने ।
स्थिर सरकारले मात्र देशमा विकास र समृद्धि दिन सक्ने ढुंगेलले बताए । स्थिर सरकार नहुँदा राष्ट्रियता समेत संकटमा परेको कारण एमालेको प्रमुख एजेण्डा राष्ट्रियताको नारा भएको उनले स्पष्ट पारे । छिमेकीसँग सीमा समस्यामा अल्झिरहने फुर्सद एमालेलाई नभएको बताउँदै उनले सीमा समस्याको स्थायी समाधान गर्नुपर्ने र त्यो क्षमता एमालेसँग मात्र भएको पनि उनले बताए ।
एमाले सामाजिक सुरक्षाको ग्यारेन्टि गर्ने स्पष्ट दृष्टिकोण राख्ने पार्टी भएको उनले बताए । त्यसैगरी एमाले देशमा जागरण र सुशासनको लागि काम गर्ने पार्टी भएको ढुंगेलले बताए । ‘एमालेलाई राष्ट्रिय शक्ति नबनाउँदासम्म सुशासन, विकास र समृद्धि सम्भव छैन’, उनले भने ।










प्रतिक्रिया