२४ असार २०८३, बुधबार

हिरोसिमा पिस पार्क विश्व शान्तिको प्रतीक : महासचिव पोखरेल

476
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जापानको हिरोसिमा पिस मेमोरियल पार्क विश्व शान्तिको प्रतीक भएको बताएका छन् ।

जापानको हिरोसिमास्थित पार्क अवलोकनका लागि पुगेका महासचिव पोखरेलले ऐतिहासिक स्थलको स्मरण गर्नका लागि निर्माण गरिएको हिरोसिमा पिस मेमोरियल पार्क आज विश्वभर शान्तिको सन्देश फैलाउने केन्द्रबिन्दु बनेको बताए । उनले विश्व शान्तिका लागि हिरोसिमाले दिएको सन्देशको निक्कै मर्मस्पर्शी भएको बताए ।

महासचिव पोखरेलले हिरोसिमा पिस मेमोरियल पार्कको भ्रमणपछि परमाणु मुक्त विश्वको आवश्यकता र शान्ति स्थापनाका लागि सबै राष्ट्रहरूले संयमता अपनाउनु पर्ने बताए । हिरोसिमाले इतिहासबाट पाठ सिक्न प्रेरित गर्नुका साथै विश्वमा दिगो शान्ति स्थापना गर्ने अभियानलाई सशक्त बनाउने उनले बताए ।

हिरोसिमामा दोस्रो विश्वयुद्धको क्रममा ६ अगस्ट १९४५ मा इतिहासकै सबैभन्दा दर्दनाक घटनामध्ये एक घटना भएको थियो । अमेरिकाले हिरोसिमा सहरमा परमाणु बम आक्रमण गर्दा हजारौँ निर्दोष नागरिकहरूले ज्यान गुमाएका थिए । त्यस आक्रमणबाट सहरमा अकल्पनीय विनाश भएको थियो । विगतका घाउ बिर्सँदै हिरोसिमा पुनर्निर्माण भएर शान्तिको प्रतीकको रूपमा स्थापित भएको छ ।

पार्क अवलोकन गर्न एमाले महासचिव पोखरेल, केन्द्रीय सदस्य सूर्य पाठक, प्रवासी नेपाली मञ्च जापानका प्रतिनिधिहरूलगायत पुगेका थिए । यस क्रममा महासचिव पोखरेलले परमाणु हमलाको विनाशकारी प्रभावको बारेमा जानकारी लिएका थिए ।