
काठमाडौं, १७ माघ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाललाई मुलुकको राष्ट्रिय राजनीतिमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाएरै छाड्ने संकल्प गरेका छन् ।
बुधबार सहिद दिवसको अवसरमा पार्टीले काठमाडौंमा आयोजना गरेको स्मृति दिवस कार्यक्रममा बोल्दै थापाले राष्ट्रियता र प्रजातन्त्रको निमित्त जीवन उत्सर्ग गर्ने सहिदहरुप्रति श्रद्धासुमन प्रकट प्रकट गरे ।
विचार र सिद्धान्त अङ्गिकार गरेको आधारमा धेरैले जीवन गुमाएको चर्चा गर्दै थापाले सहिदहरुको सपना पूरा गर्न आफूले आगामी दिनमा निष्काम कर्म गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । देशलाई अहिले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको जरुरी भएको र व्यवस्था र अवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक भएको बताउँदै थापाले त्यसको लागि विचार मिल्नेहरु सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिएकोसमेत बताए । अत्यन्तै संकटपूर्ण घडीमा राप्रपा नेपाललाई तत्कालीन अवस्थामा उठाउन महत्त्वपूर्ण भूमिका र योगदान दिने नेताहररुको स्मरण गर्दै थापाले उनीहरुको आत्माको शान्तिको लागि पनि विचार र सिद्धान्त केन्द्रित भएर काम गर्नुपर्नेमा उनको जोड थियो । ‘राजेश्वर देवकोटा, रविन्द्रनाथ शर्मा, पद्मसुन्दर लावती, हेमबहादुर मल्ल, चन्द्रबहादुर गुरुङ्ग, लोकबहादुर थापालगायतले गरेको योगदान पार्टी जीवनमा चीर स्मरणीय रहन्छ,’ थापाले भने ।
राप्रपा नेपाललाई आगामी दिनमा विचार र सिद्धान्त केन्द्रित पार्टी बनाउने भन्दै थापाले हिन्दुराष्ट्र, राजसंस्था पुनर्स्थापना मात्र अब पार्टीको अभिष्ट हुने र आन्दोलन केन्द्रित हुने स्पष्ट पारे । ‘अब हामी नै हिन्दुवादी, राजावादी, राष्ट्रवादीलाई समेटेर, गोलबन्द गर्दै आन्दोलनको वातावरण निर्माण गर्छौँ,’ उनले भने ।








प्रतिक्रिया