२८ जेष्ठ २०८३, बिहिबार

प्रधानमन्त्री ओलीको सपना पूरा गर्दै पथरीशनिश्चरेका जनप्रतिनिधि

1.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पथरी, १४ माघ । नेकपा (एमाले)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको ‘समृद्ध नेपाल सुखी नेपाली’को सपनालाई पूरा गर्न सहयोग पुग्ने कार्यक्रम मोरङको पथरीशनिश्चरे नगरपालिका–२ का जनप्रतिनिधिले ल्याएका छन् । केन्द्र सरकारको नेतृत्व ओलीले लिइएकै समयमा वडाको नेतृत्वमा रहेका नैना राईसहितका जनप्रतिनिधिले वडामा गरिब परिवार पहिचान गरी राशन कार्डको व्यवस्था गरेका छन् ।

विसं २०७९ को स्थानीय तह निर्वाचनमा एमालेबाट निर्वाचित वडाध्यक्ष राईले नेपालमै पहिलो पटक अति विपन्न परिवार पहिचान गरी वडाका २० परिवारलाई राशन कार्ड वितरण गरिएको बताए ।

सोमबार एक कार्यक्रम गरी वडामा रहेका अति विपन्न परिवारलाई सहायता हुनेगरी राशन कार्ड सेवाको सुरुवात गरिएको हो । वडाध्यक्ष राईका अनुसार वडामा भएका वडावासीबाट छनोट गरी २० परिवारलाई पहिलो चरणमा ५ देखि १५ केजी चामल प्रदान गर्न सुरु गरिएको हो । पहिलो चरणमा राशन कार्ड प्राप्त गर्ने परिवारले आउने असारसम्म मासिक रुपमा चामल प्राप्त गर्ने छन् । यो वर्षबाट वडाको बजेटमा राशन कार्ड कार्यक्रम व्यवस्था गरिएको हो । यो वर्ष एक लाख रुपयाँ बजेट वडाले छुट्याएको छ ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष राईले भने, ‘प्रधानमन्त्री ओलीले लिनुभएको सपना ‘समृद्ध नेपाल सुखी नेपाली’ जुन अभियान छ । यो सपना वडालेसमेत पूरा गराउने दायित्वका रुपमा कार्यक्रम ल्याइएको हो । आफ्नो वडाका कुनै पनि वडावासी भोकै नबसुन भनेर राशन कार्डको व्यवस्था गरिएको हो । कहिले काहीँ चामल बाड्न राहातका कार्यक्रम वडाले गरे पनि यस वर्षबाट वडावासीको गाँस, बास र कपासको सुनिश्चितताका लागि राशन कार्डको कार्यक्रम ल्याइएको हो ।’

वडाको टोल विकास समितिले दिएका नामलाई जनप्रतिनिधिले घरमै गएर व्यक्ति छनोट गरेका थिए । अति विपन्न परिवारको पहिचानका लागि वडाले एक महिनाको समय लगाएको थियो । छनोट भएका परिवारलाई आर्थिक अवस्थाका आधारमा अर्का वर्ष पनि निरन्तरता दिने वडाध्यक्ष राईले जानकारी दिए ।

पहिलो चरणमा चामल मात्र दिए पनि अर्का वर्षबाट भने दाल, चामल र अन्य आवश्यकीय सामाग्रीसमेत वितरण गर्ने योजना वडाको रहेको छ । राशन कार्ड प्राप्त गर्ने परिवारले वडाले तोकेको पसलबाट नियमित रूपमा खाद्य सामग्री प्राप्त गर्न सक्नेछन् ।