३१ जेष्ठ २०८३, आइतबार

लुम्बिनीमा एक करोड रुपैयाँको पत्रकार कल्याण कोष स्थापना गरिने

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्यार अलि खान

दाङ, १४ माघ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले एक करोड रुपैयाँ बराबरको पत्रकार कल्याण कोष स्थापना गर्ने भएको छ । आइतबार बसेको समितिको दोस्रो बैठकले पत्रकार हितका लागि कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष शुक्रऋषि चौलागाईंले जानकारी गराए ।

पत्रकार कल्याण कोष अभिवृद्धिका लागि तीनै तहका सरकार, विभिन्न दाता, शुभेच्छुक र पत्रकार साधारण सदस्यहरूसँग अपिल गर्ने निर्णय भएको उनले सुनाए । ‘जटिल रोग, प्राकृतिक प्रकोप तथा दुर्घटनामा सहायता प्रदान गर्ने योजना मुताविक हितकोष स्थापना गर्न लागि पर्नेछौँ ।’ चौलागाईंले भने ‘प्रदेशका सबै जिल्लामा पुगी कार्यक्रम बनाएर सरोकारवाला निकायसँग आह्वान गर्नेछौँ ।’ महासंघलाई रणनीतिक, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्दै दीर्घकालीन उद्देश्य प्राप्त गर्न अध्यक्ष चौलागाईंलाई वार्षिक कार्ययोजना ल्याउने जिम्मेवारी दिइएको छ ।

यसैगरी, महासंघको कामलाई थप प्रभावकारी बनाउन उपाध्यक्ष रामप्रसाद आचार्यको संयोजकत्वमा कार्यक्रम तथा प्रकाशन विभाग, उपाध्यक्ष मीना ढकालको संयोजकत्वमा महिला विभाग र महासचिव पाण्डव प्रसाद शर्माको संयोजकत्वमा संगठन विभाग गठन गरिएको छ ।

बैठकले लुम्बिनी प्रदेशस्तरीय सञ्चार प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णयसमेत गरेको छ । प्रशिक्षण केन्द्र स्थापनाका लागि संघीय, प्रदेश र स्थानीय सरकारसँग बजेटका लागि पहल गर्ने निर्णय गरिएको महासचिव शर्माले बताए । समितिको निर्णय प्रक्रियालाई छरितो र प्रभावकारी बनाउनका लागि पदाधिकारी रहनेगरी सचिवालय गठन गर्ने निर्णय गरिएको छ ।

त्यस्तै, लुम्बिनी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयअन्तर्गत गठित प्रदेश सञ्चार समन्वय परिषद्लाई क्रियाशील बनाउन पहल थाल्न सम्बद्ध मन्त्रालयलाई जोडदार माग गरिएको छ । प्रदेश र स्थानीय तहलाई सञ्चारमैत्री कानून र कार्यक्रम ल्याउन आग्रह गर्ने निर्णयसमेत गरिएको छ ।

बैठकले नयाँ वर्ष २०८२ को उपलक्ष्यमा क्यालेन्डर प्रकाशन गर्ने निर्णय गरेको छ । क्यालेन्डर प्रकाशनका लागि सचिव गोविन्दप्रसाद शर्माको संयोजकत्वमा कोषाध्यक्ष प्रेमनारायण आचार्य, सदस्यहरू तेजेन्द्र केसी, प्यार अलि खान र सीता पाण्डेलाई जिम्मेवारी दिइएको छ ।