
रौतहट, १४ माघ । गौर भन्सार कार्यालयले पुस महिनामा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन गरेको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो ६ महिनाको अवधिमा ८५ प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो । पुस महिनामा तीन करोड ४७ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको र यो लक्ष्यभन्दा १७ प्रतिशत बढी रहेको गौर भन्सार कार्यालयले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म कुल १४ करोड ६७ लाख ५५ हजार रुपैयाँ राजस्व संकलन भएको गौर भन्सार कार्यालयका निमित्त प्रमुख अमेन्द्र सिंहले बताए । यो भन्सार विभागले दिएको राजस्व लक्ष्यको ८५ प्रतिशत भएको उनले उल्लेख गरे । विभागले यस आर्थिक वर्षको लागि गौर भन्सारलाई कुल ३५ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको उनले बताए ।
भन्सार कार्यालयले अवैध किसिमले हुने चोरीपैठारी रोक्न र यस्ता कार्यमा संग्लनलाई कानुनी दायरामा ल्याउन थालेपछि राजस्व संकलनमा वृद्धि भएको उनले जानकारी दिए । यस वर्षको राजस्व लक्ष्य पूरा गर्न कार्यालय अझै थप प्रभावकारी तरिकाले अघि बढने कार्यालयका निमित्त प्रमुख सिंहले बताए ।
चालु आर्थिक वर्षको साउनदेखि पुससम्म दुई करोड ४२ लाख ७७ हजार चार सय ४३ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । यस अवधिमा अवैध सामान ओसारपसारमा संलग्न ६६ जनालाई पक्राउ गर्नुका साथै १०८ वटा मोटरसाइकल, दुई थान पिकअप भ्यान, दुई थान स्कारपियो गाडी, १४ वटा साइकल, र चारवटा सिटी रिक्सासमेत बरामद गरिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।









प्रतिक्रिया