
काठमाडौं, १४ माघ । संसद्को हिउँदे अधिवेशनका लागि तयारी तीव्र पारिएको छ ।
माघ १८ गतेदेखि सुरू हुने हिउँदे अधिवेशनका लागि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् । जसअनुसार सभामुख घिमिरेले आज बिहान ११ बजेबाट प्रमुख पाँच दलका मुख्य सचेतक र प्रमुख सचेतकसँग सिंहदरबारमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ ।
हिजो बिहान ११ बजे सत्तापक्षका मुख्य सचेतक, प्रमुख सचेतकसँग छलफल गरेका सभामुख घिमिरेले त्यसपछि दिउँसो २ बजे प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए ।
सभामुख घिमिरेका सचिवालयका अनुसार भोलि दिउँसो १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरबारमा तय गरिएको छ । साथै, विधेयक रहेका संसदीय समितिका सभापतिसँग पनि सभामुख घिमिरेले अलग अलग संवाद गरिरहेको उनका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।









प्रतिक्रिया