
बर्दिबास, १३ माघ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले मुलुक राजनीतिक अस्थिरता र आर्थिक संकटमा गुज्रिएको बेला एमाले नेतृत्वको वर्तमान सरकार बनेको बताएका छन् ।
आइतबार बिहान प्रेस चौतारी नेपाल महोत्तरीले बर्दिबासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव पोखरेलले दुई पार्टी मिलेर राजनीतिक स्थायित्व गर्ने सोचका साथ अहिलेको सरकार बनेको बताए । यो बीचको अवधिमा केही सुधारका काम भएको र त्यसको परिणाम देखिन लागेको उनले बताए ।
नयाँ सरकार बनेपछि पुँजीगत खर्च बढेको, विदेशी मुद्राको सञ्चिति बढेको तथा आर्थिक क्षेत्र चलायमान भएको उनले बताए । तथापि लगानी र आर्थिक क्रियाकलापको क्षेत्रमा केही समस्या देखिएको कारण दुई दलीय संयन्त्र बनाएर सरकाले आर्थिक क्रियाकलाप सुधारको लागि सरकाले पाँचवटा अध्यादेश ल्याएको महासचिव पोखरेलले स्पष्ट पारे ।
संसदीय प्रक्रियामा कानुन बनाउन केही लामो समय लाग्ने र मुलुकको आर्थिक संकट लामो समयसम्म पर्खेर बस्ने अवस्था नभएकोले सरकाले त्यसको सुधारका लागि ती अध्यादेश ल्याएको उनले बताए । नेपालका व्यावसायिक संस्थाहरूले अध्यादेशको खुलेर समर्थन गर्नुले पनि यसको आवश्यकता पुष्टि भएको महासचिव पोखरेलको भनाइ छ ।
राजनीतिक अस्थिरतामा खेल्न चाहनेहरूले यो सरकार आजै ढल्छ, भोलि नै ढल्छ भन्ने प्रचार गरिरहेका भए पनि त्यसमा कुनै सत्यता नरहेको उनले बताए । प्रतिपक्षमा हुँदैमा विरोध नै गर्नुपर्छ भन्ने मानसिकता त्याग्नु पर्नेमा उनले जोड दिए । दुई पार्टीको समझदारीमा बनेको सरकार भएकोले सरकार ढल्ने कुनै सम्भावना नरहेको महासचिव पोखरेलले बताए ।
लोकतन्त्रमा जनताले पत्याएका दलले नै शासन गर्नुपर्ने बताउँदै उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिले गठबन्धन अप्राकृतिक भयो भन्दै मजाक गरेर हिँडेको महासचिव पोखरेलले बताए । ‘कमजोरले शासन गर्ने होइन, ठूला दललाई सहयोग गर्ने हो, कमजोरले शासन गरेर देश कहिल्यै बन्दैन, बलियाहरूले नै हो, जनादेश पाएकाले नै हो देशको नेतृत्व गर्ने’, महासचिव पोखरेलले भने ।
मधेशका समस्याका विषयमा एमाले अति संवेदनशील रहेको उनले बताए । मधेशको विकास कसैले गर्छ भने त्यो एमालेले मात्र गर्ने पोखरेलले प्रष्ट पारे । नीतिगत रूपमा मुलुक सञ्चालन गर्न नसक्दासम्म देशले निकास नपाउने उनले बताए । मुलुकलाई विकासको बाटोमा एउटा पार्टीले बहुमतसहित पाँच वर्षसम्म नेतृत्व गर्न पाउने उनले स्पष्ट पारे ।
आउने चुनावमा कांग्रेस र एमाले बीच एक्लाएक्लै चुनाव लड्ने सहमति भएको उनले बताए । ठूला पार्टीको बुई चढेर साना पार्टीले चुनाव जित्दा देशमा अस्थिरता भएको महासचिव पोखरेलको भनाइ छ ।












प्रतिक्रिया