१४ असार २०८३, आइतबार

रारामा पाहुना चराको संख्या बढ्यो

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, १२ माघ । मुगुको रारा तालमा पाहुना चराहरुको संख्या गत वर्षभन्दा यस वर्ष बढेको छ । समुन्द्री सतहबाट दुई हजार ९ सय ७२ मिटर उचाइमा रहेकोे रारा तालमा भारत, मानसरोबर ,साइबेरियालगायतका विभिन्न खाडी मुलुकबाट दर्जनौं प्रजातिका चराहरु यस वर्ष बढेका छन् ।

चराविद्हरुका अनुसार रारामा पाइने चराहरु साइबेरियालगायत विभिन्न देशहरुबाट मंसिर महिनाबाट आउन सुरु गर्छन् । यस वर्ष माघबाट हिउँ परेको हुँदा हिजोआज धमाधम हाँस, जलेवा, काला, खैरा, पहेँलोलगायत फरक फरक रंग भएका धेरै चराहरु रारामा देखिने गरेका छन् । ती चराहरु वैशाख महिनासम्म रारामा बस्ने त्यसपछि गर्मी बढेपछि मानसरोवर, साइबेरिया जाने गरेका छन् ।

यस वर्ष पुस महिनामा रारामा डुङ्गा नचल्दा ,मानिसहरुको आगमन कम हुँदा पाहुना चरा बढेको स्थानीयको भनाइ छ ।

रारा राष्ट्रिय निकुञ्जको रेर्कड अनुसार विगतका वर्षमा रारा तालमा रमाउने पाँच प्रजातिका तीन सय ४२ हाँसहरु रहेको देखिन्छ भने यसवर्ष चरा गणना अनुसार १५ प्रजातिका हाँस पाँचसयभन्दा बढी भेटिएको पाइन्छ ।

विशेषगरी राराको मिलीचौर, ओखरबोट, मिजार, दोफे, महादेव मन्दिर, आर्मी ब्यारेक क्षेत्रमा बढी हाँसहरु भेटिने गरेका छन् । रारामा विशेषगरी कमन कुट, खोया हाँस, मलाट हाँस, काले, खैरो, पहेँलो रंगका हाँसहरु रहेको रारा राष्ट्रिय निकुञ्जले जनाएको छ ।