१५ असार २०८३, सोमबार

अध्यादेश जनताको हितमा छ : मुख्यमन्त्री कार्की

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अध्यादेशबाट सरकारले काम कारबाही गर्नु असंवैधानिक नभएको बताएका छन् ।

आज प्रेस चौतारी मोरङको ९औँ अधिवेशनको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले अध्यादेश पनि संवैधानिक व्यवस्था अनुसार नै ल्याइएको र यसले सरकारलाई काम कारबाही गर्न सजिलो हुने बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘यो पनि संवैधानिक व्यवस्था हो, जनतालाई राहत दिनका लागि गरिएको काम भएको र यसबाट कोही आत्तिनुपर्ने अवस्था छैन ।’ अध्यादेशले निरङ्कुशता हुन्छ भन्नु गलत भएको टिप्पणी गर्दै मुख्यमन्त्री कार्कीले यो आरोप लगाउनका लागि गरिएको काम मात्र भएको बताए ।

नेपाली कांग्रेस र नेकपा (एमाले) बीचको सहमतिबाट बनेको यो सरकारबाट उत्साह छाएको र यसको सकारात्मक नतिजा आउन थालेको उनले बताए । मुख्यमन्त्री कार्कीले भने ‘अहिले राजस्व वृद्धि भइरहेको छ । सरकारको पछिल्ला कामहरूले निजी क्षेत्र उत्साहित भएको छ, अर्थतन्त्र चलायमान भएको छ ।’ कोशी प्रदेशमा पनि २५ प्रतिशतले राजस्व वृद्धि गरेको चर्चा गर्दै उनले प्रदेश सरकारले राखेको लक्ष्य पूरा हुने बताए ।

मुख्यमन्त्री कार्कीले पछिल्लो समयमा सञ्चारमाध्यममा नकारात्मक कुराले प्राथमिकता पाएको बताउँदै यथार्थ समाचाारलाई सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । उनले कोशी प्रदेश सरकारले यही अधिवेशनबाट आमसञ्चार व्यवस्थापन गर्न बनेको विधेयक पास गरेर पत्रकारिता क्षेत्रको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।  ‘हामी यसपटक कानुन पास गरेरै पत्रकारको हितमा काम गर्छौँ,’ मुख्यमन्त्री कार्कीले भने ।