
प्युठान, ११ माघ । प्युठानको सरुमारानीमा मगर र गुरुङ बस्ती रहेको सिंगो गाउँ नै नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा (एमाले) मा प्रवेश गरेको छ ।
प्युठानको सरुमारानी–४, सिरबारी क्षेत्रका हपुरखोला, जङ्गले, सनचर खोला, अम्मरे, पूर्णगाउँ, खाई, खन्नेरी, दह र हपुरखोलाका एक घरबाहेक सबै ५१ घरधुरी माओवादी छाडेर एमाले प्रवेश गरेको एमाले प्युठानका जिल्ला सदस्य चिन्तबहादुर सोमैले जानकारी दिए ।
माओवादी केन्द्र सरुमारानी–४ नं. वडा कमिटीका अध्यक्ष लालबहादुर थापा मगर, अगुवा कार्यकर्ताहरू तुलबहादुर घर्तीमगर, तेजबहादुर बुढाथोकी, रूपेस थापामगर, वीर बहादुर थापामगर (विकास)सहित ५१ जना नेता कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका हुन् ।
एमाले प्रवेश गर्दै नेता लालबहादुर थापाले गाउँमा सबैखाले समस्याको समाधान एमालेले मात्र गर्न सक्ने भएका कारण आफूहरू सामूहिक रूपमा एमालेमा प्रवेश गरेको बताए ।
२०७९ को निर्वाचनपछि सरुमारानीमा मात्रै विभिन्न पार्टी छोडेर झण्डै १३० घरधुरीले एमाले रोजेको एमाले प्युठानका निर्वाचन क्षेत्र समन्वय कमिटी प्युठान ‘क’का संयोजक मोहम्मद हलिम हलुवाईले बताए ।
नवप्रवेशीहरूलाई संविधान सभा सदस्य एवं एमाले नेता धनबहादुर रायमाझी, लुम्बिनी प्रदेश कमिटी सदस्य झगबहादुर विश्वकर्मा, वडाअध्यक्ष चिन्तबहादुर सोमैलगायतले अबिर मालासहित पार्टीमा स्वागत गरेका थिए ।












प्रतिक्रिया