
भक्तपुर, ११ माघ । मध्यपुरथिमि नगरपालिका–२ सानोथिमिस्थित दिव्यश्वरी प्लानिङमा मोटरसाइकल र कार एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको । दुर्घटनामा एक बालिका घाइते भएकी छिन् ।
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलका अनुसार बा प्र ०१–०२७ च. ९२७ नंको कार र बा५० प ७४१ नं को मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार भोजपुरको पात्लेपानी गाउँपालिका–६ घर भई हाल काठमाडौं पेप्सीकोला बस्ने २३ वर्षीया सपना राईको मृत्यु भएको हो । उनको उपचारका क्रममा काठमाडौं मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको हो । दुर्घटनामा मोटरसाइकलमै सवार तीन वर्षीया ईश्वरी राई घाइते भएकी छिन् । दुवैजना आमा छोरी हुन् ।
कार चालक रामेछापको सुनापाती गाउँपालिका–१ घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरीवृत्त थिमिले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।








प्रतिक्रिया