
बुटवल, ११ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज पनि अदालतमा उपस्थित हुँदैछन् ।
बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेकाले शुक्रबार पनि उनी अदालतमा उपस्थित हुन लागेका हुन् ।
सहकारी ठगीमा पक्राउ परेका रास्वपाका सभापति लामिछाने बुधबार पहिलो पटक रूपेन्देही अदालतमा उपस्थित भएका थिए । उनी हाजिरी जमानीमा रिहा भएका थिए ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थियो । लामिछाने बिहीबार अदालतमा उपस्थित भए पनि थुनछेक बहस भने सकिन पाएन ।
सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो । प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो ।
लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।










प्रतिक्रिया