१ असार २०८३, सोमबार

भाडा छुट नदिने सार्वजनिक यातायातविरुद्ध कडा कदम चाल्ने अनेरास्ववियुको चेतावनी

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) काठमाडौंले केही सार्वजनिक यातायातले विद्यार्थीलाई भाडामा छुट दिन आनाकानी गरेकोप्रति आपत्ति जनाएको छ ।

केही सार्वजनिक यातायातहरूले अटेर गर्दै विद्यार्थीसँग मनोमानी रूपमा भाडा उठाउने गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको अनेरास्ववियु काठमाडौंले जनाएको छ । उपत्यकामा दैनिक रूपमा नेपालको विभिन्न स्थानबाट अध्ययन गर्न आएका विद्यार्थीहरू सार्वजनिक यातायातमा आवतजावत गर्ने गरेकामा बसहरूले बिदा, बेलुकाको समय, लगायत विभिन्न बहाना बनाएर छुट दिन आनाकानी गर्ने गरेका भन्दै त्यसलाई रोक्न अनेरास्ववियुले माग गरेको छ ।

कार्ड देखाएर भाडमा छुट माग्दा विद्यार्थीलाई अपहेलना गर्ने गरेको पाइएकाले यस प्रकारका व्यवहार नगर्न पनि अनेरास्ववियुले सचेत गराएको छ । ‘यस विषयलाई अवमूल्यन गरी सरोकारवालाहरू सम्बोधन विमुख तिर गए अनेरास्ववियुले गम्भीर कदम चाल्न बाध्य हुनेछ र त्यसबाट सिर्जित घटनाको जिम्मेवार अनेरास्ववियु हुनेछैन’, अनेरास्ववियु काठमाडौंका अध्यक्ष निराजन थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीलाई सार्वजनिक यातायात यात्रामा दिइने छुट तथा सहुलियत सम्बन्धी कार्यविधि नै निर्माण गरी विद्यार्थी आन्दोलनबाट प्राप्त उपलब्धिलाई संरक्षण गर्नु राज्यको दायित्व भएको अनेरास्ववियु केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला इञ्चार्ज धर्मराज तिमल्सिना बताउँछन् । राज्यले प्रदान गरेको सार्वजनिक यातायातमा सहुलियतको सुविधा सार्वजनिक यातायात सञ्चालकले शनिबार, राति, सार्वजनिक बिदालगायतका समयमा दिन नमान्ने व्यापक गुनासो आउने गरेको उनले बताए । विद्यार्थीलाई मात्र होइन ज्येष्ठ नागरिक, अपाङ्गता भएका र जनआन्दोलनका अशक्त घाइते लाई पनि सार्वजनिक सवारी साधनमा छुट दिन आनाकानी गर्ने गरिएको तथा छुट दिँदा पनि अपमानजनक व्यवहार हुने गरेको तिमल्सिनाको भनाइ छ ।

अनेरास्ववियुका तत्कालीन अध्यक्ष स्व. रवीन्द्र अधिकारीको नेतृत्वमा विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक यातायातमा ५० प्रतिशत सहुलियत माग गर्दै आन्दोलन भएको थियो । त्यस आन्दोलनमा राज्यको दमनबाट स्याङ्जाका देवी पौडेलले ज्यान गुमाउनु परेको थियो । आन्दोलनको क्रममा सयौँ विद्यार्थी घाइते भएका थिए ।

विसं २०५० सालमा तत्कालीन सरकारको मध्यस्थतामा यातायात व्यवसायी र विद्यार्थी संगठनबीच विद्यार्थी परिचय पत्रको आधारमा विद्यार्थीलाई सार्वजनिक सवारी साधनको भाडामा ३३ प्रतिशत छुट दिने सहमति भएको थियो । स्व. रवीन्द्र अधिकारीको सक्रियतामा भएको विद्यार्थी संगठनको लगातारको आन्दोलन पछि २०६५ सालमा सरकारले विद्यार्थीलाई गाडी भाडामा ४५ प्रतिशत छुट दिने निर्णय गरेको थियो ।