
–अन्जनी कुमार अधिकारी
उदयपुर, ८ माघ । गृहमन्त्री रमेश लेखकले विपद् व्यवस्थापन क्षेत्रमा सरकारले काम गर्ने बताएका छन् । मंगलबार उदयपुरको बेलका नगरपालिकास्थित सप्तकोशी नदी कटानको स्थलगत अवलोकन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले पछिल्लो समय देशभर विपद्ले पुर्याएको क्षेतिलाई मध्यनजर गर्दै सरकारले आगामी वर्ष वर्षा अगाडि नै ज्योखिम युक्त क्षेत्रको पहिचान गरी जोखिम न्यूनीकरणका लागि काम गर्ने बताएका हुन् ।

पछिल्लो समय सप्तकोशी नदीले धार परिवर्तन गरेर पश्चिम दिशातर्फ सोझिएर उदयपुरको बेलका नगरपालिकातर्फ तीव्र रुपमा कटान गर्न थालेपछि उदयपुर र सुनसरी जिल्लाका बिसौं हजार स्थानीयहरु वर्षाको समयमा त्रसित भएर बस्दै आएका छन् ।
सप्तकोशी नदीले धार परिर्वतन गरी पश्चिमतर्फ उदयपुराको बेलका नगरपालिका ८ लाहुरे खोचबाट कटान गर्दा बेलका नगरपालिका वडा नम्बर २, ३, ८ र ९ उच्च जोखिममा परेको छ । सुनसरीको बराहाक्षेत्र नगरपालिकाको वडा नम्बर ६ र ९ को केही वस्ती उच्च जोखिममा परेको छ । वर्षौदेखि सप्तकोशी नदीको समस्या भोग्दै आएका स्थानीयको पीडालाई सम्बोधन गर्न स्थलगत अवलोकनमा पुगेका गृहमन्त्री लेखकले सप्तकोशीले पुर्याएको जनधनको क्षतिलाई मध्यनजर गर्दै सरकारले तत्काल उचित कदम चाल्ने बताए ।

विपद् प्रधिकरणका महानिर्देशक डा. भीष्म भुषाल, सिडिई सुदिप भट्ट, कोशी बक्राहाका कार्यालय प्रमुख रन्जन राज भट्टराई, उदयपुर निर्वाचन क्षेत्र नं. १ का संघीय सांसद डा. नारायण खड्काको टोलीसहित सप्तकोशी नदी कटानको स्थलगत अवलोकनमा पुगेका गृहमन्त्री लेखकले सप्तकोशी नदीको समस्यालाई समाधान गर्न सरोकारवाला निकायसँग आवश्यक समन्वय गर्दै जोखिम न्यूनीकरणका लागि ठोस कदम चालिने बताए ।
बेलका नगरपालिका नगरप्रमुख अशोक कार्कीले भने सप्तकोशी नदी नियन्त्रणको दीर्घकालिन खाका बनाएर काम गर्नुपर्ने बताए । उनले सुन्सरी, सप्तरी र उदयपुरका छ पालिकाले एउटा प्लान बनाएको समेत बताए । नगरप्रमुख कार्कीले सप्तकोशी नदी नियन्त्रणका लागि नदीको दुवैतर्फ च्यानल बनाएर कोशी ब्यारजेको पुलदेखि चतराको पुललाई जोड्नु पर्ने बताए । यसले नेपाल मात्र नभएर भारतका जनतालाई समेत ठूलो राहत पुग्ने जिकिर गरे ।
विगत लामो समयदेखि सप्तकोशी नदीले पश्चिमतर्फ आफ्नो धार परिवर्तन गरेर उदयपुरको बेलकाको ठूलो मानव वस्तीलाई जोखिम पुर्याइरहेको छ । सप्तकोशी नदीले हरेक वर्ष स्थानीयलाई बेचैन बनाउँदा गृहमन्त्री, मन्त्रीदेखि प्रदेश सरकार समेत पटक पटक हेलिकप्टर चार्टर्ड देखि स्थलगत अवलोकनमा आएको भएपनि अहिलेसम्म सरकारले सप्तकोशी नदी नियन्त्रणका लागि ठोस कदम चाल्न सकेको छैन् ।









प्रतिक्रिया