
पर्सा, ७ माघ । पर्साको बहुदरमाई नगरपालिका भित्र रहेका २० सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाहरु आन्दोलित भएका छन् ।
नेपाल शिक्षक महासंघ पर्साको अगुवाईमा आइतबारदेखि विद्यालयमा ताल्चा लगाएर शिक्षक शिक्षिकाहरुले पठनपाठन बन्द गरेका हुन् । जसका कारण सोमबार पनि विद्यालय बन्द रहेका छन् । उनीहरुले विगत ६ महिनादेखि तलबभत्ता पाउनुपर्ने मुख्य माग राखेका छन् ।

गत साउनदेखि पुससम्म ६ महिनाको र दशैं खर्च बापतको १ महिना गरेर ७ महिनाको तलबभत्ता नपाउँदा आफूहरुको घर खर्च टार्न पनि समस्या परेको भन्दै बाध्य भएर विद्यालय बन्द गरेको शिक्षक महासंघ पर्साका अध्यक्ष तिथराज यादवले बताए । उनका अनुसार विद्यालयमा ताला लगाएर चाबी प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई बुझाइएको छ ।
बहुदरमाई नगरपालिकाका मेयर सिंगासन सा तेली र प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाबीचको विवादका कारण नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी र शिक्षक शिक्षिकाहरुले तलबभत्ता नपाएको बुझिएको छ ।
प्रमुख जिल्ला अधिकारी अर्यालले बहुदरमाई नगरपालिकाका शिक्षक र कर्मचारीहरुको समस्याबारे आफूले गम्भीर रुपमा लिएको बताए । यस विषय छलफलबाट नै टुंगोमा पुग्ने उनले जानकारी दिए ।
बहुदरमाई नगरपालिकामा २० वटा स्कूलमा करिब १० हजार विद्यार्थीहरु अध्यन गर्छन् ।








प्रतिक्रिया