
जनकपुर, ६ माघ । उपभोक्ता समितिबाट काम गराउने गरी पेश गरिएको संकल्प प्रस्ताव मधेश प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
उपभोक्ता समितिबाट काम गराउने गरी चालु आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यको १४७ बुँदा संशोधन गर्न प्रदेश सभामा पेश गरिएको संकल्प प्रस्ताव बहुमतले पारित भएको हो ।
संकल्प प्रस्तावको पक्षमा ४३ र विपक्षमा १६ प्रदेशसभा सदस्यले मतदान गरेका थिए । प्रदेश सभामा १ सय ७ प्रदेशसभा मध्ये ५९ प्रदेश सभा सदस्यहरुको उपस्थिति रहेको थियो ।
उपभोक्ता समितिबाट काम गराउन बाधक रहेको बजेट वक्तव्यको १४७ नम्बर बुँदाको बाधा फुकाउन सत्ता पक्षबाट लोसपाकी सांसद रुपाकुमारी यादवले संकल्प प्रस्ताव आइतबार सदनमा पेश गरेकी थिइन् ।
प्रस्तावको समर्थकमा नेकपा (एमाले)बाट पल्टी देवी महरा, कांग्रेसबाट अञ्जना पण्डित, जनमतबाट हसिना खातुन, एकीकृत समाजवादीबाट रत्नेश्वर गोइत र राप्रपाबाट कञ्चन विच्छा रहेका थिए ।
चालु आर्थिक वर्षको बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुल्ला प्रतिस्पर्धाबाट काम गराउने उल्लेख छ । चालु आर्थिक वर्षमा यो बुँदाले जनमत नेतृत्वको मधेश सरकारको कामकाज नै ठप्प भएपछि पछाडि हटेर सत्ता गठबन्धन संकल्प प्रस्ताव सदनमा लगेको थियो ।
प्रस्तावको छलफलमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरुले बचाउ र विरोधमा धारणा राखेका थिए । सत्ताको नेतृत्व गरिरहेको जनमत, एमाले, कांग्रेस, लोसपासँगै विपक्षी दल राप्रपाका प्रदेशसभा सदस्यहरुले प्रस्तावको पक्षमा मतदान गरे । प्रमुख प्रतिपक्षी जसपा नेपाल, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले प्रस्तावको विपक्षमा मत गरेका थिए ।
गत पुस २९ गते संकल्प प्रस्ताव सदनमा दर्ता भएको थियो । संकल्प प्रस्तावमा ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट र माथिका योजना खुल्ला प्रतिस्पर्धाबाट गर्ने उल्लेख छ ।
विगतमा हुने योजना खरिदबिक्री रोक्न वर्तमान सतिश सिंह नेतृत्वको सरकारले नै बजेट वक्तव्यमा खुल्ला प्रतिस्पर्धामार्फत काम गराउने प्रावधान ल्याएका थिए । तर, यस प्रावधानले चालु आर्थिक वर्षको ६ महिनामा मधेश सरकारको काम नै ठप्प भएपछि प्रश्न उठ्ने गरेको छ । सुरुमा यो बुँदा कार्यान्वयन गराउन दृढ देखिएको जनमत नेतृत्वको सरकार पछाडि हटेर उपभोक्ता समितिबाट काम गराउन बाटो खोल्ने प्रयास गरेको हो ।
गत पुस २६ गते मुख्यमन्त्रीको आवासमा बसेको सत्ता गठबन्धन दलको बैठकले बजेट वक्तव्यको बाधा फुकाउन सदनमा संकल्प प्रस्ताव लग्ने सहमति गरेको थियो ।
संकल्प प्रस्ताव विशेष परस्थितिमा मात्रै ल्याइने भएकाले यो संकल्प प्रस्ताव पारित गराउन मत विभाजन प्रकिया अपनाउन जसपा नेपालका प्रमुख सचेतक रामअशिष यादवले माग गरेका थिए । त्यसपछि यो प्रस्ताव पारित गराउन मत विभाजन प्रकिया अपनाउनु परेको थियो ।









प्रतिक्रिया