
विराटनगर, ६ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टीलाई बलियो बनाउन जनसंगठनको महत्वपूर्ण भूमिका हुने बताएका छन् ।
आज विराटनगरस्थित एमाले पार्टी कार्यालयमा नेपाल खेलकुद महासंघ मोरङको दोस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै ढकालले पार्टीलाई बलियो बनाउन सम्पूर्ण जनसंगठन एक भएर लाग्नुपर्ने बताएका हुन् ।

ढकालले खेलकुद महासंघ एमालेको सबैभन्दा सक्रिय जनसंगठन रहेको भन्दै प्रशंसासमेत गरे । उनले खेलकुद महासंघले यस्तै सक्रिय साथ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीको अधिकारका लागि लाग्नुपर्ने बताए ।
त्यस्तै, अधिवेशनलाई सम्बोधन गर्दै नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष पर्शुराम बस्नेतले महासंघले पछिल्लो समय खेल क्षेत्रलाई सक्रिय बनाउन देशैभरि खेल प्रतियोगिताको आयोजन तथा रचनात्मक गतिविधि गरिरहेको बताए ।

कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव समेत रहेका बस्नेतले खेल गति नै खेलाडीको प्रगति भन्ने मूल नारालाई अनुसरण गर्दै महासंघले खेलाडीले खेल खेलेरै जीवनयापन गर्न सक्नेगरी नीति निर्माण गर्न पहल गरिरहेको समेत बताए ।








प्रतिक्रिया