
काठमाडौं, ६ माघ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कांग्रेसलाई बलियो बनाउन सबैले व्यक्तिवादी मानसिकता त्याग्नुपर्ने बताएका छन् ।
आज नेपाली जनसम्पर्क समिति भारतले भारतको राजधानी नयाँ दिल्लीमा आयोजना गरेको वार्षिक भेला, नेपाल भारत सम्बन्ध, वीपी विचार र प्रवासी समस्या विषयक अन्तरक्रिया, प्रशिक्षण एवम् सांस्कृतिक कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।

उनले पार्टीमा व्यक्तिवादी सोच र आफू केन्द्रित प्रवृत्ति हावी हुन खोजेको भन्दै यस्ता किसिमका प्रवृत्तिलाई निस्तेज पार्न कांग्रेसका नेता कार्यकर्ता सबै लाग्नुपर्ने जिकिर गरे ।
प्रवक्ता डा. महतले नेपाल भारत सम्बन्धको चर्चा गर्दै भने, ‘भारत नेपालको सबैभन्दा नजिकको छिमेकी भएकाले कहिलेकाहीँ दुई देशका बीचमा समस्याहरु आउनु स्वभाविक हो, ती समस्याहरुको समाधान कुटनीतिक रुपमा वार्ताको टेबुलमा बसेर हल गर्नुपर्छ ।’
कार्यक्रममा बोल्दै डा. महतले माओवादीको अस्थिर चरित्रका कारण अहिलेको एमाले-कांग्रेस गठबन्धन बनेको बताए । सात बुँदे समझदारी अनुसार यो सरकार अगाडि बढ्नुपर्ने कुरामा जोड दिँदै उनले समझदारी अनुसार नै अन्तिममा पार्टी सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्ने कुरा पनि बताए ।








प्रतिक्रिया