१८ असार २०८३, बिहिबार

प्रेस चौतारी बागमतीद्वारा ८ बुँदे मौलाकालिका घोषणापत्र जारी

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ६ माघ । ‘समृद्धिको लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नाराका साथ श्रमजीवी पत्रकारहरुको अग्रणी संगठन प्रेस चौतारी नेपाल बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठक शनिबार मौलाकालिकामा सम्पन्न भएको छ । बैठकले आठ बुँदे मौलाकालिका घोषणापत्र जारी गरेको छ ।

पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिकामा कार्यवाहक अध्यक्ष राधेश्याम खतिवडाको अध्यक्षता र प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरा लामाको प्रमुख आतिथ्यमा बैठक बसेको हो ।

जारी घोषणापत्रमा श्रमजीवि पत्रकारहरुको न्यूनतम पारिश्रमिक, विदा, औषधि उपचार, विमा, उपदानलगायत सामाजिक सुरक्षाको ग्यारेन्टीको माग गरिएको छ ।

घोषणापत्रमा भनिएको छ, ‘विशेषगरी सरकारी, सामुदायिक र निजी सञ्चारगृहहरुले आआफ्नो सञ्चारगृहमा कार्यरत श्रमजीवि पत्रकार तथा सञ्चारकर्मीहरुको सामाजिक सुरक्षा कोषको ग्यारेन्टी गर्न समेत यो बैठक माग गर्दछ ।’

स्वरोजगाार मिडियाको संरक्षण र प्रबद्र्धनका लागि विशेष जोड दिँदै घोषणापत्रमा अगाडि भनिएको छ, ‘स्वरोजगार मिडियाको संरक्षण प्रर्वद्धनका लागि समानुपातिक विज्ञापन नीति र स्थानीय स्तरका विज्ञापन तथा सूचना स्थानीय सञ्चारमाध्यमलाई नै उपलब्ध गराउन माग गर्दछ । साथै अनलाइन सञ्चारमाध्यहरुलाई पनि वैज्ञानिक ढंगले वर्गीकरण गरी लोककल्याणकारी विज्ञापनसहितका सरकारी सूचना तथा विज्ञापन प्रकाशित गर्ने वातावरण तयार गर्न यो बैठकले जोडदार माग गर्दछ ।’ स्थानीय पत्रिका हुलाक कार्यालयमा दर्तार नविकरण गरेपछि पनि टिकट टाँस्नुपर्ने प्रावधान हटाउन समेत बैठकले माग गरेको छ ।

गत मंसिर २८ गते सम्पन्न नेपाल पत्रकार महासंघको २७ औं महाधिवेशनमा बागमती प्रदेश समिति, बागमती प्रदेशका १० जिल्ला समिति र यस भूगोलबाट केन्द्रीय समितिमा गठबन्धनको तर्फबाट केन्द्रीय समिति, प्रदेश समिति र शाखाहरुमा अघि सारिएका उम्मेदवारहरुलाई मतदान गर्ने सम्पूर्ण सदस्यहरुलाई बैठकले आभार प्रकट गरेको छ । विजयी सबैलाई बधाई समेत ज्ञापन गरिएको छ ।

प्रेस चौतारी नेपालको अगुवाई र पहलकदमीमा श्रमजीवी पत्रकारहरूको हित र पेशागत रक्षाको पक्षमा निर्माण भएका कानून, नीति, नियम, निर्णय एवम् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निर्माण भएका कानूनहरुको कार्यान्वयनका लागि दृढतापूर्वक उभिने दृढ संकल्प पनि बैठकले गरेको छ । जारी घोषणापत्रमा अगाडि भनिएको छ, ‘पत्रकारको पेशागत दक्षता वृद्धि र सुरक्षाका सवालमा थप संवेदनशील हुन सरोकार राख्ने सबै पक्षसँग जोडदार माग गर्दछौँ ।’

वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा लागिरहेको ठहर गर्दै घोषणापत्रमा भनिएको छ ‘सरकारले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, भौगोलिक अखण्डता र समृद्धिको पक्षमा गरिरहेको कामको दृढतापूर्वक समर्थन गर्दछौँ । साथै ती कामहरुको बारेमा आम सञ्चार माध्यमबाट आम जनसमुदाय समक्ष पुर्‍याउन अधिकतम् योगदान गर्ने संकल्प गर्दछौँ ।’

चौतारीका केन्द्रीय सदस्यहरु सरिता दाहाल (मकवानपुर), तिलक रिमाल (चितवन), प्रेम दाहाल (सिन्धुली)ले तयार गरेको घोषणापत्रमा उपचाररत पत्रकार भुपराज पाठक, फणि महतलगायतको स्वास्थ्य लाभको कामना समेत गरिएको छ ।

चितवन र यसका छिमेकी जिल्लाको पर्यटन विकासका निम्ति महत्वपूर्ण रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र मौलाकालिका क्षेत्रको थप विकासका लागि बैठकले मागसमेत गरेको छ ।