
काठमाडौं, ६ माघ । उपसभामुख इन्दिरा रानाले नेपालले चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिँदै आएको धारणा राखेकी छन् ।
चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा काठमाडौंको ठमेलमा आइतबार आयोजित परेड कार्यक्रममा सम्बोधन गर्दै उपसभामुख रानाले दुई देशबीचमा सुमधुर र समस्यारहित सम्बन्ध रहेकोले उच्च महत्व र प्राथमिकदा दिँदै आएको धारणा राखेकी हुन् ।
‘नेपाल र चीनबीच घनिष्ठ, मैत्रीपूर्ण र ऐतिहासिक सम्बन्ध रहेको छ । हाम्रो सम्बन्धको जरा गहिरो र बहुआयामिक छ,’ उनले भनिन्, ‘हामी हाम्रा दुई देशबीचको सुमधुर र समस्यारहित सम्बन्धबाट धेरै खुसी छौं र हामी चीनसँगको सम्बन्धलाई उच्च महत्व र प्राथमिकता दिन्छौँ ।’

उपसभामुख रानाले नेपाल सधै ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको पनि दोहोर्याइन् । ‘नेपाल सधै ‘एक चीन नीतिको बलियो समर्थक रहँदै आएको छ र भविष्यमा पनि यसमा प्रतिबद्ध रहनेछ । नेपाली भूमिको दुरुपयोग गरी चीनविरुद्धको कुनै पनि गतिविधि हुन नदिने हाम्रो नीति र प्रतिबद्धतामा हामी दृढ छौँ,’ उनको भनाई थियो ।
नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताप्रति चीनले गरेको निःशर्त सम्मानको नेपालले सधै कदर गर्ने पनि उपसभामुख रानाले बताइन् । दुई देशले उच्चस्तरीय भ्रमण र कार्यक्रमहरूको नियमित आदानप्रदानबाट द्विपक्षीय सम्बन्धमा ऐतिहासिक प्रगति र गतिशीलता हासिल गरेको चर्चा गर्दै उपसभामुख रानाले औपचारिक भ्रमणका क्रममा भएका महत्वपूर्ण निर्णय र सहमतिहरूले द्विपक्षीय सम्बन्ध र सहयोगमा नयाँ गतिशीलता ल्याउने विश्वास पनि व्यक्त गरिन् । उनले चिनियाँ परम्परा अनुसार सर्पले वुद्धि र अनुकूलन क्षमताको प्रतीक भएकाले यो नयाँ वर्षले सबैका लागि थप प्रगति र समृद्धि ल्याउने विश्वास लिएको पनि बताइन् ।
अर्को प्रसंगमा उपसभामुख रानाले चीन र नेपाल, दक्षिण एसिया, दक्षिण पूर्व एसिया र मध्य एसियाका अन्य देशहरू बीचको सम्पर्क विस्तारका लागि ट्रान्स हिमालयन प्लेटफर्मको कार्यान्वयनलाई तीव्रता दिन चाहेको धारणा राखिन् ।
चीनका राजदुत छङ सोङले नेपाल–चीन कूटनीतिक सम्बन्धको ७० औँ वार्षिकोत्सव र चिनियाँ नयाँ वर्ष मनाउने क्रममा आयोजित परेडले विशेष महत्व राखेको बताउँदै यसले दुई देशबीचको घनिष्ठ र निरन्तर बढ्दै गइरहेको सम्बन्धलाई अगाडि बढाउन उत्कृष्ट अवसर बन्ने विश्वास ब्यक्त गरे । यस अवसरमा चीन र नेपालका विविध संस्कृति झल्कने प्रस्तुति पनि देखाइएको थियो ।










प्रतिक्रिया