
सुर्खेत, ६ माघ । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले पार्टीको मिसन ८४ लाई सफल बनाउन गाउँमा केन्द्रित हुन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।
शनिबार एमाले कर्णाली प्रदेश कमिटीको चौथो पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रमुख अधिकारीले कर्णाली प्रदेशमा भौगोलिक कठिनाइ भए पनि दिन रात नभनी जिम्मेवारी प्राप्त नेताहरूले आफ्नो भूगोलमा बसेर पार्टीको काम गर्नुपर्ने बताए ।
कर्णालीका नेताहरू चुनावको बेलामा मात्र गाउँ आँउछन् भन्ने जन गुनासो रहेको भन्दै उनले त्यसलाई चिर्ने कुरामा ध्यान दिनुपर्ने बताए । एमाले पार्टीलाई एक नम्बरको पार्टी बनाउने गरी लाग्नसमेत उनले निर्देशन दिए । साथै, एमाले स्थायी कमिटी सदस्य एवम् कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले एमालेका नेता कार्यकर्ताले आफ्नो क्षमता प्रतिस्पर्धी पार्टीलाई टक्कर दिनेगरी बनाउनु पर्ने बताए । बैठकलाई सम्बोधन उनले आजको आधुनिक सूचना र प्रविधिको समय भएकाले पार्टीका नेता तथा कार्यकर्ताले क्षमता बढाउन नसके पछाडि पर्ने बताए ।

एमाले पार्टीका काम बाह्रै महिना हुनुपर्ने कुरामा उनले जोड दिए । एमालेका बैठक व्यक्तिका अनुकुलताका आधारमा होइन पार्टीको आवश्यकता र केन्द्रको निर्देशनमा बस्नु पर्ने कँडेलले उल्लेख गरे ।
बैठकमा कर्णाली प्रदेश इन्चार्ज गोरख बोगटी, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो भने बैठकले जिल्लाका बैठक तोक्नेलगायतका निर्णय समेत गरेको छ ।









प्रतिक्रिया