
रामेछाप, ६ माघ । रामेछाप सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापती गाउँपालिकासँग जोड्ने मन्थली–गाल्पा सडकको काम लामो समयदेखि अलपत्र परेको छ ।
यो सडकको मन्थलीबाट खाँडादेवी गाउँपालिका–५ पकरबासको सिकारी डाँडासम्म तीन वर्ष अघि नै कालोपत्रे भइसकेको भए पनि बाँकी निर्माणको काम अलपत्र परेको छ । पटक पटक सडक निर्माणको म्याद थपिएको भए पनि निर्माण कम्पनीले काम गरेको छैन ।
सम्झौता अनुसार यो सडकको पकरबास–गोगनपानी–गाल्पा खण्डको काम २०७९ पुसमा नै कालोपत्रे गरी जिम्मा लगाइसक्नु पर्ने हो । तर निर्माण कम्पनी दिवा/ओम बुद्ध/अर्याल जेबी दोलखाले तीन वर्षसम्म पनि काम नगरी सडक आयोजना अलपत्र पारेको नेकपा (एमाले) खाँडादेवी गाउँपालिका कमिटी अध्यक्षसमेत रहेको मोतीलाल तामाङले बताए ।
जिल्ला पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का लगाइएको सडकको काम समयमा नभएपछि गतवर्ष खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङको नेतृत्वमा जनप्रतिनिधि, राजनीतिक दलका नेताहरू, सामाजिक अगुवा समेतले पूर्वाधार कार्यालयमा नै तालाबन्दीसमेत गरेका थिए । तालाबन्दीपछि गत जेठ ९ गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठ, उपाध्यक्ष रमा घिसिङलगायत जनप्रतिनिधि, पूर्वाधार विकास कार्यालय मन्थलीका प्रमुख वीरेन्द्रकुमार बज्राचार्य, प्राविधिक, निर्माण कम्पनीका प्रतिनिधिलगायत बसी थप गरिएको म्याद भित्रै कार्यसम्पन्न गर्ने कागज गरिएको थियो । तर थप गरिएको अवधिमा पनि निर्माण कम्पनीले काम पूरा गरेको छैन ।
सडकका केही ठाउँमा नाला सफा गर्ने, कता कति वाल लगाउनेलगायतका काममा श्रमिकहरू लगाएर निर्माण कम्पनीले काम पनि गरिरहे जस्तो गरेर निर्माणको काममा आलटाल गरेको छ । निर्माण व्यवसायीले सहमति अनुसार काम नगरेको खाँडादेवी गाउँपालिका उपाध्यक्ष रमा घिसिङले बताइन् ।
जिल्ला पूर्वाधार कार्यालय रामेछापका प्रमुख वीरेन्द्रकुमार बज्राचार्यका अनुसार यो सडकमा हालसम्म ३३ प्रतिशत काम मात्र भएको छ । डेढ वर्षमा सक्नु पर्ने काम साढे ३ वर्ष हुँदा जम्मा ३३ प्रतिशत मात्र प्रगति हुनुले सडक निर्माणकार्य पूरा हुन अझै कति समय लाग्ने हो निश्चित छैन ।
सडक निर्माणको लागि अहिलेसम्म नौ/नौ महिना गरी दुई पटक म्याद थप गरिएको छ । दोस्रो पटक थप गरिएको म्याद पनि सकिएको छ । तर काम भने अलपत्र नै छ ।
कूल १५.२६ किलोमिटर लामो पकरबास–गोगनपानी–गाल्पा सडक पिच गर्न ४७ करोड रुपैयाँ लागत इष्टमेट गरिएको थियो । तर निर्माण कम्पनीले २६ करोड रुपैयाँमा काम सम्पन्न गर्नेगरी सम्झौता गरेको थियो । लागत इष्टमेटको झण्डै आधा कम रकममा निर्माण सम्झौता गरेको कम्पनीले काममा घाटा लाग्ने भन्दै निर्माण कार्यमा आलटाल गर्दै आएको छ ।









प्रतिक्रिया