
वीरेन्द्रनगर, ५ माघ । नेकपा (एमाले) कर्णाली प्रदेश कमिटीको चौथो पूर्ण बैठक वीरेन्द्रनगरस्थित प्रदेश पार्टी कार्यालयमा सम्पन्न भएको छ ।
शनिबार पार्टीका प्रदेश अध्यक्ष गुलावजंग शाहको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका स्थायी कमिटी सदस्य तथा संगठन विभाग प्रमुख काशिनाथ अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
बैठकमा प्रदेश उपाध्यक्ष टेकराज पछाईले स्वागत मन्तव्य राखेका थिए भने बैठक सञ्चालन प्रदेश सचिव ध्रुवकुमार शाहीले गरेका थिए । बैठकमा स्थायी कमिटी सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्यलगायत प्रदेश कमिटीका सदस्यहरूको उपस्थिति रहेको थियो ।
बैठकमा प्रदेश अध्यक्षद्वारा मनोनीत सदस्यहरूको शपथग्रहण, प्रदेश अध्यक्षको रिपोर्टिङ प्रस्तुति र जिल्ला अध्यक्षहरूबाट संगठनात्मक गतिविधिको रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।

बैठकमा प्रमुख अतिथि संगठन विभाग प्रमुख अधिकारीले केन्द्रीय कमिटीको आठौं बैठकले पारित गरेको तीनमहिने वडा केन्द्रीत अभियानका बारेमा विशेष अनुशिक्षण दिएका थिए ।

यसैगरी, बैठकले प्रदेशका दशवटै जिल्लामा तीनमहिने अभियान कार्यान्वयनका लागि बैठकहरूको मिति तय गरेको छ ।
बैठकमा प्रदेश इन्चार्ज गोरखबहादुर बोगटी र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले निर्देशनात्मक मन्तव्य राखेका थिए । बैठकले विभिन्न समसामयिक प्रस्तावहरू पारित गरेको एमाले कर्णाली प्रदेश कमिटीले जनाएको छ ।









प्रतिक्रिया