
काठमाडौं, ५ माघ । नेकपा (एमाले)बाट निष्कासित भएपछि भीम रावल शनिबार पहिलो पटक आफ्नो गृहजिल्ला अछाम पुगेका छन् ।
रावलको गृहजिल्ला भ्रमण विगतका भन्दा निकै फरक रह्यो । पहिले एमालेको सूर्य चिह्न र पार्टी झण्डाले भरिने स्वागत कार्यक्रममा यसपटक राष्ट्रिय झण्डा मात्र देखियो र केही सीमित कार्यकर्ताहरूले मात्र रावलको स्वागत गरे ।
विगतमा एमालेको जयजयकारले गुञ्जायमान हुने रावलको स्वागत कार्यक्रम यसपटक फिका देखियो । यद्यपि, रावल अब नयाँ राजनीतिक यात्राको तयारीमा छन् । उनी मातृभूमि जागरण अभियान, नेपाल नामक नयाँ पार्टी स्थापना गर्ने योजनामा छन् ।
शनिबारको कार्यक्रममा रावलका केही कट्टर समर्थकहरूले मात्रै उनलाई स्वागत गरे । उनीहरूले मातृभूमि अभियान र भीम रावल जिन्दावादका नारा लगाउनुका साथै एमालेविरुद्ध पनि नाराबाजी गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै रावलले एमाले नेतृत्वप्रति तीव्र आक्रोश व्यक्त गरे । उनले पार्टीमा तानाशाही प्रवृत्ति हावी भएको र त्यसैको कारण आफू निष्कासित भएको गुनासो गरे ।
रावलले आफ्नो सम्बोधनमा भने, ‘सत्ताको उन्मादमा यस्तो निरङ्कुश, तानाशाही प्रवृत्तिको मात चढेको व्यक्तिले मलाई पार्टीबाट निष्कासन गरेका छन् । यस्ता तानाशाह बचेको इतिहास छैन । जनताले एक न एक दिन खाल्डोमा हाल्छन् ।’
उनले अब आफू नेपाली मूलधारको राजनीतिमा एउटा सशक्त वैकल्पिक शक्ति निर्माण गर्न लागेको बताउँदै गृहजिल्लावासीलाई आफ्नो अभियानमा साथ दिन आग्रह गरे ।









प्रतिक्रिया