
काठमाडौं, ४ माघ । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी थप अभियोजन मुद्दा दर्ता गरेको छ ।
सरकारी वकिल कार्यालयले हिजो अबेर थप अभियोजन मुद्दा दर्ता गरेको छ भने समय अभावका कारण पूरक अभियोजन आज दर्ता गर्दैछ । यसअघि वैशाख ३ गते दर्ता भएको मूल मुद्दामा सुप्रिम सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक गितेन्द्रबाबु राईसहित २८ जना विरुद्ध मुद्दा दर्ता भएको थियो ।
जिल्ला सहन्यायाधिवक्ता एवं सूचना अधिकारी उमाकुमारी केसीका अनुसार सुरु मुद्दामा सहकारी ठगीसम्बन्धी मात्र मुद्दा दर्ता भएकोमा हिजो १७ जनालाई संगठित अपराधको थप अभियोग लगाइएको छ ।
यस्तै, गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र छविराज जोशी सम्बन्धित पूरक जाहेरी अनुसारको अभियोजन आज दिउँसो दर्ता गर्न लागिएको हो । सुरु मुद्दाका २८ जनामध्ये १७ जनालाई संगठित अपराधको थप अभियोग लगाइएको छ भने ११ जनाविरुद्ध भने ठगीको मूल मुद्दा नै कायम रहने छ ।
थप र पूरक अभियोजनमा ४२ जना प्रतिवादीबाट १ अर्ब १२ करोड रुपैयाँको माग दाबी गरिएको छ ।
सुप्रिम सहकारीमा १० हजार ३ सय ९१ बचतकर्ताले जम्मा गरेको १ अर्ब ३१ करोड रुपैयाँमध्ये ८६ करोड १८ लाख रुपैयाँभन्दा बढी रकम अपचलन भएको पाइएको छ । अपचलन भएको रकममध्ये १४ करोड रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्कमा गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।








प्रतिक्रिया