
काठमाडौं, ३ माघ । नेकपा (एमाले)ले सहकारी ठगी प्रकरणमा विपक्षमा बहस गरेकै आधारमा अदालत परिसरमै वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा र भत्र्सना गर्दै कडा कारबाहीको माग गरेको छ ।
एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बिहीबार विज्ञप्ति जारी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै कारबाहीको माग गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको विपक्षमा बहस गरेको भन्दै बुधबार जिल्ला अदालत काठमाडौंको परिसरमा नै त्रिपाठीमाथि आक्रमण गरेका थिए । एमालेले यो घटनाको विरोध गर्दै निष्पक्ष छानबिनको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘यही मिति २०८१ साल माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको भौतिक आक्रमण, गालीगलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।’
विज्ञप्तिको पूर्णपाठ
निष्पक्ष छानबिनको माग
यही मिति २०८१ साल माघ २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी माथि भएको भौतिक आक्रमण, गाली–गलौज तथा सांघातिक हमला जस्ता निन्दनीय कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ ।
काठमाडौं जिल्ला अदालत परिसरवाट वाहिरिने क्रममा जाहेरवालाको तर्फबाट वहश गरेकै आधारमा वहश पैरवीका वुँदाहरुलाई लिएर अराजक समुहवाट वरिष्ठ कानुनविदमाथि भएको यसप्रकारको निन्दनीय कार्यको हाम्रो पार्टी खेद व्यक्त गर्दछ । नेकपा (एमाले) सदैव विधिको शासन र कानुनी राज, स्वतन्त्र न्यायपालिका र सम्वद्व कानून व्यवसायीहरुको पेशागत हकहितका पक्षमा दृढ छ,अराजकता र उदण्डताको अन्त्य गर्न र यस्ता अमानवीय घटनाको निष्पक्ष र स्वतन्त्र छानबिन गरी दोषीउपर कडा भन्दा कडा कार्यवाहीको माग गर्दछ ।
राजेन्द्र गौतम
प्रमुख, प्रचार तथा प्रकाशन विभाग
नेकपा (एमाले)









प्रतिक्रिया