४ श्रावण २०८३, सोमबार

निजामती सेवा ऐन जारी गर्ने यो उपयुक्त समय हो, अहिले नबने अलपत्र पर्छ : मन्त्री गुप्ता

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ माघ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले संघीय निजामती सेवा ऐन पारित गर्ने यो उपयुक्त समय भएको बताएका छन् ।

हालै सरुवा भई आएका सचिव रविलाल पन्थलाई बुधबार मन्त्रालयमा स्वागत गर्दै उनले देशकै चासोका रूपमा रहेको ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ संसदबाट पारित गर्ने उपयुक्त अवसर भएको बताएका हुन् ।

आउँदो संसद् अधिवेशनबाट यो विधेयक पारित गराउने कार्यमा आफू अत्यन्तै क्रियाशील रहेको जानकारी दिँदै मन्त्री गुप्ताले भने, ‘निजामती सेवासम्बन्धीको यो विधेयक आउँदो अधिवेशनमा प्रवेश र पारित हुन्छ । देशको पहिलो र दोस्रो शक्ति मिलेर बनेको सरकारले पनि पारित गरेन भने यो विधेयक अलपत्र पर्छ ।’ यो विधेयक अहिले पारित नभए कहिले आउँछ र पारित हुन्छ कुनै ठेगान नहुने मन्त्री गुप्ताको भनाइ छ ।

निजामती सेवा ऐन बनाउनु संविधान बनाउनुजस्तै ठूलो काम भएको चर्चा गर्दै उनले ऐन जारी गर्नाका लागि सबैको रचनात्मक सहयोग आवश्यक रहेको बताए ।

‘२०७० सालको संविधान सभाले समयमै संविधान जारी गर्न नसक्दा हामी सभासदहरूलाई संसदको लोगो लगाएर हिँड्न पनि मुश्किल थियो, संविधान नै थाहा नभएकाले पनि संविधान कहिले आउँछ सभाषदज्यू भनेर पाइलैपिच्चे प्रश्न गरेको यादहरू ताजै छ । त्यस्तै भएको छ यो निजामती सेवा विधेयक पनि,’ मन्त्री गुप्ताले विगत सम्झिदै भने, ‘अनेक अवरोधका बीच हामीले २०७२ सालमा संविधा जारी गर्‍यौँ, तर त्यसको नौ वर्ष पुग्दासम्म निजामती सेवा ऐन निर्माण गर्न सकेका छैनौँ । यसबाट हामी सबै चिन्तित छौँ । अहिले पारित गरेरै छाड्छौँ ।’

निजामती सेवा ऐन निर्माणले कर्मचारी प्रशासन व्यवस्थित गर्नाका साथै वर्तमान सरकार र देशै सफलताको बाटोतर्फ उन्मुख हुने उनको भनाइ छ । आफूले मन्त्रालयको कार्यभार सम्हालेदेखि नै यो ऐनलाई प्राथमिकतामा राख्दै आएको तथा एक सय र दुई सय दिनको आफ्नो कार्यप्रगति विवरण तथा प्रधानमन्त्रीसँग गरिएको कार्यसम्पादन सम्झौतामा समेत यो विषयलाई पहिलो प्राथमिकतामा राखेको मन्त्री गुप्ताले स्पष्ट गरे ।

राज्य व्यवस्था समितिमा अन्य विधेयकहरूको चाङ हुँदा पनि निजामती कर्मचारी सेवासम्बन्धी विधेयकलाई छलफलमा लैजान पहल गरिएको स्मरण उनले गरे । फलस्वरुप विधेयक दफवार छलफलको चरणमा प्रवेश गरेको छ ।