
–अन्जनी कुमार अधिकारी
उदयपुर, २ माघ । ‘आजको युवा, नशाविरुद्धको योद्धा’ भन्ने मूल नारासहित उदयपुरको चौदण्डीगढी नगरपालिकाका युवाहरुले लागूऔषध दुर्व्यसनी रोक्न एकमहिने सचेतना अभियान सुरु गरेका छन् ।
बुधबार युवाहरुले चौदण्डीगढी नगरपालिकाको बेल्टार बजारस्थित बसपार्कमा एक कार्यक्रमको आयोजना गर्दै एकमहिने अभियानको शुभारम्भ गरेका हुन् ।
अभियानको चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामा, पुर्वनगर प्रमुख खगेन्द्र राई, वडा अध्यक्ष अम्बरबहादुर खड्काले उद्घाटन गरेका हुन् । अभियानको आयोजना सूर्योदय सुधार केन्द्र, चौदण्डीगढी रिकभरी टिम र क्लिन एण्ड ग्रीन सिटि बेल्टारले संयुक्त रुपमा सुरु गरेका हुन् ।

अभियानअन्तर्गत युवाहरुले लागूपदार्थ दुर्व्यसनीविरुद्ध नगर भित्रका टोलटोल र बस्तीबस्तीमा पुगेर सम्पूर्ण अभिभावक तथा १३ वर्षदेखि १९ वर्ष उमेर समूहका युवाहरुसँग अन्तरक्रिया र सचेतना अभियान चलाउने छन् । युवाहरुले यस एकमहिने अभियानमार्फत कुलत, दुर्व्यसनी न्यूनीकरणमा महत्वपूर्ण सफलता हासिल गर्ने अपेक्षा लिएको क्लिन एण्ड ग्रीन सिटि बेल्टारका प्रमुख विदुर राईले जानकारी दिए ।
कार्यक्रमको उद्घाटन गर्दै मेयर लामाले सभ्य समाज निर्माणका लागि सबैको उत्तिकै भूमिका हुने बताए । लागूऔषध दुर्व्यसनी रोक्ने कार्यमा सबै पक्षबीच सहकार्यको खाँचो अत्यावश्यक रहेको भन्दै यो अभियान सफल बनाउन नगरपालिकाले सबै खाले भूमिका निर्वाह गर्ने बताए ।
पूर्वमेयर राईले दुर्व्यसनले समाजलाई कुनै पनि समय दुर्घटनामा लैजाने भन्दै सभ्य समाज निर्माण गर्न यसलाई न्यूनीकरण गर्दै लैजानुपर्ने बताए ।
यस अभियानले दुर्व्यसनले निम्त्याउने घटनामासमेत न्यूनीकरण गर्न सहयोग पुग्ने र असल समाजको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रममा सहभागीहरुले बताए ।









प्रतिक्रिया