२२ जेष्ठ २०८३, शुक्रबार

राष्ट्रियताका पक्षधर साइबर आक्रमणको निशानामा : अध्यक्ष बस्नेत

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ माघ । प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले राष्ट्र र राष्ट्रियताका पक्षधरहरू अहिले साइबर आक्रमणको निशानामा परेको बताएका छन् ।

प्रेस चौतारी नेपाल केन्द्रीय समितिमा मनोनीत सदस्यहरूको शपथग्रहण तथा स्वागत गर्न प्रेस चौतारी नेपालको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै अध्यक्ष बस्नेतले त्यसैको निशानामा प्रधानमन्त्री केपी ओली तथा उनका समर्थक र शुभचिन्तकहरू परेको बताए ।

‘केपी ओलीको नाम सुन्ने बित्तिकै एक खालको आक्रमण गर्ने काम भएको छ, २०७२ सालदेखि केपी ओलीले नेपालको राष्ट्रियताको पक्षमा जुन अडान राख्नु भयो र मुर्झाएको सपनालाई ब्युँताएर जुन समृद्धिको खाका बनाउनुभयो, त्यसबाट नेपाल बन्छ भनेर तर्सिएका शक्तिहरू नेकपा एमालेका विरुद्ध लागेका छन्’, बस्नेतले भने ।

प्रेस चौतारीमा आबद्ध पत्रकारहरूले एमाले र केपी ओलीविरुद्धको आक्रमण नेपालको समृद्धि विरुद्धको आक्रमण हो भन्ने कुरा बुझ्नुपर्ने अध्यक्ष बस्नेतले प्रष्ट पारे । ‘यो नेपालको राष्ट्रिय स्वाधीनता, स्वाभिमान र राष्ट्रिय झण्डा माथिको आक्रमण हो भन्ने बुझ्नु पर्दछ’, उनले भने ।

आजको युद्ध भनेको साइबरवार भएको बताउँदै बस्नेतले यो युद्ध जित्नै पर्ने बताए । आज समृद्धिका सपना विरुद्ध साइबर आक्रमण भइरहेकोले यो युद्धका विरुद्ध विजय प्राप्त गर्न जरुरी रहेको उनले बताए ।

साइबर आक्रमण गर्नेले जस्तै गरी छाडा हिसाबले होइन शिष्ट र तर्कपूर्ण ढङ्गले उनीहरूको प्रतिवाद गर्नुपर्नेमा बस्नेतले जोड दिए । सबै खालका विकृति र विसङ्गतिका विरुद्ध श्रेष्ठता हासिल गरेका प्रेस चौतारी नेपालका योद्धाहरूले यो आक्रमण विरुद्धको प्रत्याक्रमणमा पनि श्रेष्ठता हासिल गर्ने उनले विश्वास व्यक्त गरे ।

अध्यक्ष बस्नेतले प्रेस चौतारीमा विगतमा जिम्मेवारी दिन नसकिएका पत्रकारहरूलाई अहिले केन्द्रीय समितिमा मनोनीत गरिएको बताए । कतिपय पत्रकार महासंघ र अन्य ठाउँमा पठाउन रिजर्भ गरेर राखिएका पत्रकारहरूलाई ती ठाउँमा पठाउन नसकिएको बताउँदै उनले अहिले उनीहरूलाई केन्द्रीय समितिमा मनोनीत गरिएको बताए । संगठन बनाउने, मिलाउने र चलाउने क्रममा यस्ता काम गर्नुपर्ने बस्नेतको भनाइ छ । व्यक्ति फेरिए पनि संगठन नफेरिन उनले स्पष्ट पारे ।

सबै क्षमतावान् पत्रकारहरू भएको प्रेस चौतारी नेपालमा एकै पटक सबै पत्रकारलाई जिम्मेवारीमा लैजान नसकिएको बताउँदै उनले ढिलो–चाँडो सबैले अवसर पाउने बताए ।