
काठमाडौं, २९ पुस । स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस काठमाडौं जिल्ला अदालतमा आजदेखि सुरु हुँदैछ ।
हिजो आइतबार अदालतमा उपस्थित भएका लामिछानेको बयान लिइएको थियो तर थुनछेक बहस नसकिएको कारण उनलाई भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरको हिरासतमा राखिएको छ ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई आज बिहान १० बजे इजलासमा उपस्थित गराउन आदेश दिएको छ ।
यसअघि गत बिहीबार लामिछाने कास्कीको सूर्यदर्शन सहकारी ठगी मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए ।
लामिछानेले शुक्रबार काठमाडौं जिल्ला अदालतमा स्वयं उपस्थित हुने बताएका थिए, तर समयाभावका कारण हिजो आइतबार मात्र लामिछाने अदालत पुगेका थिए ।
काठमाडौं जिल्ला अदालतमा थुनछेक बहस नसकिएसम्म लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहनेछन् ।








प्रतिक्रिया