
काठमाडौं, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर छुटेका थिए ।
त्यहाँबाट छुटे पनि शुक्रबार जिल्ला अदालतमा स्वयंम हाजिर हुने भनिए पनि समय अभावका कारण उनी काठमाडौं जिल्ला अदालतमा हाजिर हुन सकेनन् ।
जिल्ला प्रहरी कास्कीको हिरासतबाट मुक्त भए पनि हिजो साँझ अबेर मात्रै काठमाडौं आइपुगेकाले उनी शुक्रबार अदालतमा हाजिर हुन नसकेको उनकी श्रीमती निकिता पौडेलले जानकारी दिएकी थिइन् । ‘आइतबार भने उहाँ स्वयंम जिल्ला अदालत काठमाडौंमा उपस्थित हुनुहुनेछ,’ उनले जानकारी दिँदै भनिन् ।
कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछाने प्रतिवादी बनाइएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले गत पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता गर्न सुझाव दिएपछि उनी अदालतमा हाजिर हुन लागेका हुन् ।
स्वर्णलक्ष्मी सहकारीबाट ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।








प्रतिक्रिया