११ असार २०८३, बिहिबार

माघी पर्वलाई ऐतिहासिक र गौरवको पर्वका रूपमा मनाउनुपर्छ : महासचिव पोखरेल

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दाङ, २७ पुस । नेकपा (एमाले)का महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले माघी पर्वलाई प्रदेशको ऐतिहासिक र गौरवको पर्वका रूपमा निरन्तरता दिनुपर्नेमा जोड दिएका छन् । नेपाल लोकतान्त्रिक थारु संघले आयोजना गरेको मघौटा सांस्कृतिक मेलाको उद्घाटन गर्दै महासचिव पोखरेलले थारु समुदायको सांस्कृतिक महत्त्वलाई उच्च सम्मान गदै माघी पर्वलाई थारु संस्कृतिको पहिचान मात्र नभई समृद्ध नेपालको निर्माणमा प्रेरणाको स्रोतका रूपमा लिनुपर्ने बताएका हुन् ।

थारु समुदायको योगदान र संस्कृति नेपाली समाजको केन्द्रबिन्दु भएको उल्लेख गर्दै महासचिव पोखरेलले आफू मुख्यमन्त्री भएको समयमा लुम्बिनी प्रदेश सरकारले माघी पर्वलाई ऐतिहासिक र गौरवपूर्ण पर्वका रूपमा मनाउने सुरुवात गरेको स्मरण गरे । यस परम्परालाई अझ सशक्त रूपमा निरन्तरता दिनुपर्ने उनले सुझाव दिए ।

महासचिव पोखरेलले थारु समुदायको परम्परागत कृषि प्रणालीलाई आधुनिकतामा रुपान्तरण गर्नुपर्ने आवश्यकता औंल्याए । उनले समुदायको आर्थिक सुधार र समृद्धिका लागि कृषि पद्धति परिवर्तन गर्न आवश्यक भएको बताए । ‘थारु समुदायले परम्परादेखि गर्दै आएको कृषि प्रणालीमा नयाँ सोच र प्रविधिको उपयोग गर्दै रुपान्तरण गर्नुपर्छ’, उनले भने ।

थारु समुदायको नेतृत्वमा समाज रुपान्तरणको सम्भावना रहेको उल्लेख गर्दै पोखरेलले भने, ‘समाजको आर्थिक र सामाजिक परिवर्तनको नेतृत्व गर्न थारु समुदायले आफ्नो जीवनशैलीलाई बदलेर समृद्धिको संकल्प गर्नुपर्छ ।’ उनले थारु समुदायका अगुवाहरुलाई छलफल र विमर्शमार्फत् नयाँ सोच र रणनीतिमा अगाडि बढ्न आग्रह गरे ।

थारु समुदायको संस्कृति नेपाली संस्कृतिको आधारभूत हिस्सा भएको बताउँदै महासचिव पोखरेलले यसलाई जगेर्ना गर्दै आधुनिक सन्दर्भमा अझ सशक्त बनाउनु पर्ने धारणा राखे । ‘थारु संस्कृतिले नेपालभित्र मात्र नभई अन्तर्राष्ट्रिय मञ्चमा पनि हाम्रो पहिचान बनाएको छ । यसलाई हामीले गर्व गर्नुपर्छ’, उनले भने ।

माघी पर्वले थारु समुदायको ऐतिहासिक र सांस्कृतिक योगदानलाई सम्मान गर्न सक्ने मात्र नभई, प्रदेश र देशको एकता र समृद्धिका लागि समेत प्रेरणा दिने पोखरेलको धारणा थियो । थारु समुदायले आफ्नो सांस्कृतिक मूल्यमान्यता जोगाउँदै समृद्धिको यात्रामा अघि बढ्दा समाजका सबै वर्गलाई समेट्ने परिवर्तनकारी नेतृत्व प्रदान गर्न सक्ने विश्वास पोखरेलले व्यक्त गरे ।

माघी पर्व केवल उत्सव मात्र नभई थारु समुदायको आर्थिक, सांस्कृतिक र सामाजिक रुपान्तरणको संकेत गर्दै महासचिव पोखरेलले यस पर्वलाई प्रदेशभरको साझा उत्सवका रूपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याउँदै लुम्बिनी प्रदेशलाई समृद्धिको यात्रामा अघि बढाउन थारु समुदायको योगदान महत्वपूर्ण हुने बताए ।

थारु समुदायले आफ्नो जीवनशैली र आर्थिक प्रणालीमा रुपान्तरण गरेर समृद्ध नेपालको नेतृत्व गर्न सक्ने उल्लेख गर्दै पोखरेलले समाज रुपान्तरणको प्रक्रियामा सहभागी हुन सबैलाई आह्वान गरे ।