२१ जेष्ठ २०८३, बिहिबार

देउवाले दोहोर्‍याए : एमालेसँगको सहकार्य कुनैपनि हालतमा टुट्दैन

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

काठमाडौं, २७ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सहकार्य कुनैपनि हालतमा नतोडिने बताएका छन् ।

आज (शनिबार) आफ्नो निवास बुढानिलकण्ठ आएका आफूनिकट नेताहरुसँगको कुराकानीमा देउवाले सरकार ढल्ने हल्लामा कुनै सत्यता नभएको प्रष्ट पारेका हुन् । सरकार ढल्छ अरे भनेर जिज्ञासा राख्नेहरुमाथि झोक्किँदै देउवाले जवाफ फर्काएका थिए ।

उनको आक्रोश थियो– ‘कसले ढाल्छ सरकार ? म ढाल्ने पक्षमा छैन् । अब केपी ओलीको कुरा हो भने उनैलाई सोध्नु । सरकार ढल्दैन् ।’ उनले कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिप्रति आफू इमानदार रहेको स्पष्ट पारेका थिए ।

पछिल्लो समय संविधान संशोधनको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिलाई लिएर कांग्रेस नेताहरुले प्रश्न उठाएको र सरकार ढल्ने हल्ला चलिरहेको बेलामा देउवाको यस्तो भनाई आएको हो । संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिको विषयमा पनि देउवाले छलफल गरिसकेको बताइन्छ ।

देउवासँगको भेटमा प्रधानमन्त्री ओलीले अहिले संशोधनको लागि गृहकार्य गरिने र सबैको सहमति नजुटे कांग्रेस र एमालेको बहुमत आएपछि संशोधन गर्ने कुरा गरेको प्रष्ट पारेका थिए । ओलीले आफूले केन्द्रीय कमिटी बैठकमा बडो प्रष्टसँग कुरा राख्दा पनि आफ्नै नेताहरुले यो विषय बाहिर ल्याएकोमा भने असन्तुष्टि पोख्ने गरेका छन् ।