१२ असार २०८३, शुक्रबार

जलवायु परिवर्तनको मुद्दा मुलुक विशेषको नभई विश्वव्यापी मुद्दा हो : अर्थमन्त्री पौडेल

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जलवायु परिवर्तनको मुद्दा कुनै मुलुक विशेषको नभई विश्वव्यापी साझा मुद्दा भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित दक्षिण एसियामा जलवायु परिवर्तन र व्यापार दिगोपनसम्बन्धी नेपालको तेस्रो वार्षिक सम्मेलनमा उनले जलवायु परिवर्तनको मुद्दा साझा विषय भएको हुनाले सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ र यसका असरहरु आर्थिक, सामाजिक र पूर्वाधारका क्षेत्रमा प्रस्ट रुपमा देखिँदै आएको छ । यो मुद्दा कुनै मुलुक विशेषकोभन्दा पनि विश्वव्यापी साझा मुद्दा हो र यसका लागि सबै मुलुकहरु मिलेर समाधानका प्रयासहरु गर्नुपर्छ भन्ने विषयमा नेपालले अन्तराष्ट्रिय मञ्चहरुमा निरन्तर आवाज उठाउँदै आएको छ ।’

यस्तै, अर्थमन्त्री पौडेलले जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहे पनि नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण रहेको बताए । उनले भने, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र प्रभावको तुलनामा जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य रहेको छ । यद्यपी नेपालले आफ्नो स्रोत र साधनले सम्भव भएसम्म जलवायु उत्सर्जन न्यूनिकरण र अनुकूलनका लागि गरेको प्रयास महत्वपूर्ण छन् । अन्तर्राष्ट्रिय व्यापारको दिगोपनाको लागि जलवायु परिवर्तनका मुद्दालाई सम्बोधन गर्ने सम्बन्धमा यो सम्मेलनले उपयोगी निष्कर्ष अघि सार्ने अपेक्षा गरेको छु ।’

पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्तिकारण हुने क्षती नोक्सानीबाट आपूर्ती श्रृखलामा अवरोध आउने भन्दै यसलाई ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने पनि उनको भनाई छ ।

अर्थमन्त्री पौडेलले भने, ‘व्यापार सम्बन्धी पूर्वाधारमा नयाँ प्रविधिको प्रयोग गरि उत्थानशिल बनाउनेतर्फ पनि थप क्रियाशिलता अबलम्बन गर्नुपर्ने आवश्यकता छ । हामीले ठूलो लगानीमा निर्माण गरेका पूर्वाधार संरचनाहरुमा वर्षेनी आउने प्राकृतिक विपत्ति, बाढी, पहिरो र भूकम्पका कारण हुने क्षति नोक्सानीबाट हुने आपूर्ती श्रृखलामा पर्ने अवरोधलाई समेत ध्यानमा राखि जलवायुमैत्रि विकास प्रक्रियामा थप प्रभावकारी प्रयास गर्नुपर्ने आवश्यकता छ ।’