३१ जेष्ठ २०८३, आइतबार

‘पृथ्वीनारायण शाह विविधतालाई एकताबद्ध बनाउने प्रमुख व्यक्तित्व हुनुहुन्थ्यो’

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले पृथ्वीनारायण शाह आधुनिक नेपाल राष्ट्रको निर्माणकर्ता रहेको बताएका छन् ।

३०३औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले पृथ्वीनारायण शाहले स–साना टुक्रामा छरिएका राज्यहरूलाई एकीकरण गरी आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको बताएका हुन् ।

शुभकामना सन्देशमार्फत राष्ट्रपति पौडेलले स्वर्गीय शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आधुनिक नेपाल निर्माणमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानलाई बिर्सन नहुने बताएका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, ‘आधुनिक नेपालसम्म आइपुग्दा इतिहासको विभिन्न कालखण्डमा वीर पुर्खाहरूले पुर्‍याएको योगदानको निरन्तरताका कारण आज हामी सार्वभौम र स्वतन्त्र नेपाल भनेर गर्व गर्न पाएका छौँ ।’ उनले स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवादउन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको आधार पनि पृथ्वीनारायण शाहको नेपाल एकीकरण अभियानको निरन्तरता रहेको बताएका छन् ।

यसैगरी, एकता दिवस, पृथ्वी जयन्तीका अवसमा शुभकामना व्यक्त गर्दै उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको विविधतामा एकतालाई एकताबद्ध गर्न राष्ट्रिय एकता दिवसले योगदान पुर्‍याएको बताएका छन् ।

नेपालको विविधतायुक्त संस्कृति, वेशभूषा, भाषा र धर्महरूको बीचमा एकताको उत्सव मनाउन एकता दिवस महत्वपूर्ण अवसर हुने बताएका हुन् । उनले भने, ‘मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्न राष्ट्रिय एकता दिवसले सबैलाई उत्प्रेरित गर्न सक्नुपर्छ  ।’