४ श्रावण २०८३, सोमबार

रवि लामिछानेलाई परिवारको जिम्मा लगाइयो, आज काठमाडौं अदालतमा उपस्थित हुने

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा, २६ पुस । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटीमा बिहीबार रिहा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई परिवारको जिम्मा लगाइएको छ ।

लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैँ काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो । अदालतको आदेशानुसार ६५ लाख रुपैयाँ धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए । उनीसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

लामिछाने, छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङले धरौटी रकम बुझाएर रिहा भएको कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए ।

न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँले भने आज धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश आएको हो । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ ।

धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए ।