
सिरहा, २५ पुस । शुभनारायण सदा र सुमित्रा सदाको बसेरा ‘ओडार युगको घर’ जस्तै छ । वैशाखको टन्टलापुर घामले पिठ्यु डढाउँछ, बर्खेझरीमा घरभित्रै निथ्रुक्क रुझ्नु, मैनाबत्ती खोलाको भेलले बगाउने त्रासमा रातभरी जाग्राम बस्नु र शीतलहरमा कठ्याङ्गिनु उनको जीवनभरको भोगाइ हो । त्यसकारण मैनाबत्ती नदीको पुलमुनि विगत एक दशकदेखि आश्रय लिएर बसिरहेका छन् ।
पुस महिना तराईको कठ्याङ्ग्रिने शीतलहर छ । सदा दम्पत्तीले खर बटुलेर, पराल मागेर, वनमाराको स्याउला काटेर पुलको पिलर मुनि आश्रय स्थल बनाएका छन् । पुराना जडाउरी मागेर आङ्ग ढाकेका छन् । न ओढ्ने छ, न ओछ्याउने । घरमा अन्नको गेडो पनि छैन् । शीतलहर चलेकाले कतै मजदुरी पनि पाइँदैन । चिसो रातमा भोको पेट । पुलमुनिको बास छ । कसरी बाँचेको हुनुहुन्छ ? भन्ने प्रश्नमा सुमित्रा भन्छिन्, ‘आगोको साहरा छ । भोक लागे पनि आगो ताप्छौँ, जाडो भएपनि आगो ताप्छौँ ।’

शुभनारायण भन्छन्, ‘बाँचेका छैनौँ, मृत्यु पर्खेर बसेका छौँ । मरेपछि यहाँबाट पल्टाइ दिन्छन् । नदीमै छौँ । चार चपरी माटो हालेर पुरिदिन्छन् । सकियो मुसहरको जीवन ।’
‘नेपाल राज्यमा हामीले बाचुञ्जेल लमतन्न भएर सुत्न एउटा खट राख्ने जमिन पनि पाएनौँ । ठूला जातिका धनीमानीहरुले हामीलाई बस्तीबाट उठिबास लगाएर खेदे,’ शुभनारायणले दुखेसो पोखे ।
मानव गोलबजार नगरपालिका–११ बलकवा बजार पुग्नुअघि मैनाबत्ती नदीको पुल पार गर्नुपर्छ । यो पुल मुनि मैनाबत्तीको बगरमा झण्डै ४० घर मुसहर परिवार बस्दछन् । पूरै बस्तीमा अहिले अनिकाल छ । प्रायः सबै घरमा चुल्हो बाल्न हम्मेहम्मे छ । ओढ्ने ओछ्याउनेको कमी छ । काठपात र कसमल समेतको अभावले आगो बाल्न पनि मुस्किल छ । तिर झैं शरीर घोच्ने पश्चिमी सिरेटोले अधिकांश केटाकेटी बिरामी परेका छन् । भोकभोकै रात बित्छ ।
नेपाली कांग्रेसका नेता रामवृक्ष साह भन्छन्, ‘शीतहलरका कारणले रोजगारी पनि पाइँदैन र काम गर्नसक्ने मौसम पनि छैन् । मुसहर समुदायको बिजोग भएको छ,’ साह भन्छन् ,‘तत्कालै मुसहर बस्तीमा खाद्यन्न । ओढ्ने, ओछ्याउने, न्यानो कपडा र औषधि उपचारको खाँचो छ । राहत नदिने हो भने मुसहर बालबालिकाहरु चिसोले मर्न सक्छन् । पूरै मुसहर बस्ती संकटमा छ ।’
गोलबजार नगरपालिकाले अन्न र कपडा त परै जाओस् जाडोमा दाउरासमेत दलित मुसहर बस्तीमा पुर्याउन सकेको छैन । बजार क्षेत्रमा धनीमानी माझ दाउरा वितरण गरियो तर जहाँ गरिब, दलित मुसहर छन् त्यहाँ नगरपालिकाको आँखा परेन,’ शुभनारायण सदाले आक्रोस पोख्दै भने, ‘पाँच पटक लीला मालिक र श्याम मालिक दाजुभाइलाई (सांसद लीलानाथ श्रेष्ठ र मेयर श्याम कुमार श्रेष्ठ) भोट हाल्यौँ तर हाम्रो अवस्था यस्तै छ । पुल मुनि छौँ ।’
पुलमाथीबाट आउजाउ गर्नेहरुलाई पुल मुनिको मुसहर बस्ती कठाङ्ग्रिने शीतलहरमा भोको पेट सुतेको थाहा पाउँदैनन् । तर नगरपालिकालाई पनि दलित मुसहर समुदायको अवस्थाबारे बोध र चेत छैन्–मुसहर समुदायका अगुवा अरुण सदाले रोष प्रकट गरे ।
अगुवा अरुण सदा भन्छन्, ‘यो पुलको आडैमा भवरी मेला (धार्मिक जात्रा) लाग्दछ । आउँदो माघ १ देखि ७ गतेसम्म यहाँ ठूलो मेला लाग्छ । मेलाका लागि पसल थाप्न जग्गा बाँडफाँट हुँदैछ । नगरपालिकाले जात्राका लागि लाखौं रुपैयाँ सहयोग दिएको छ तर यो मुसहर बस्तीमा नगरपालिकाको नजर पुगेको छैन् । यसरी समाजवाद ल्याइँदैछ नेपालमा ।’










प्रतिक्रिया