
-अन्जनी कुमार अधिकारी
उदयपुर, २१ पुस । उदयपुरको बेलका नगरपालिकामा गत पुस १८ गते लगाइएको ताल खोलिएको छ । बेलका नगरपालिकाले रोजगार सहायक (सेवा करार) पदको गत पुस ७ गते प्रकाशित परीक्षाको अन्तिम नतिजा अनुसार करार नियुक्तिका लागि सिफारिस भएका उम्मेदवारको ठाउँमा नाम र ठेगाना मिलेकै आधारमा अन्य व्यक्तिलाई कार्यालयले हाजिर गराएको भन्दै नेकपा (एमाले) बेलकाले कर्मचारीको लापरबाहीका कारण नक्कली व्यक्तिलाई हाजिर गराएको भन्दै त्यस विषयमा छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न भन्दै लगाएको ताला आइतबार भएको वार्ताको निष्कर्ष अनुसार खोलिएको हो ।
आइतबार भएको नगरपालिका र आन्दोलनरत पक्षको वार्ताले पाँचबुँदे सहमति गर्दै ताला खोल्ने सहमति जनाएको हो । नगरपालिका र असन्तुष्ट पक्षको वार्ताले रोजगार सहायक (सेवा करार) पदपूर्तिको विषयमा भएको कर्मचारीको गम्भीर लापरबाहीलाई छानबिन समितिले प्रतिवेदन सार्वजनिक नगरुञ्जेलसम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने निर्णयसमेत गरेको छ । यसले तत्कालका लागि प्रमुख प्रशासकीय अधिकृतलाई कामकाज गर्न रोक लगाएको स्पष्ट पारेको छ ।
दुई पक्ष बीच भएको सहमतिमा भनिएको छ, ‘घटनाका विषयमा छानबिन गर्न उपप्रमुखको संयोजकत्वमा गठन गरिएको छानबिन समितिको प्रतिवेदनका आधारमा दोषी देखिएकाहरु माथि कारबाहीको प्रक्रिया अघि बढाउने । प्रमुख प्रशासकीय अधिकृत र प्रशासकीय अधिकृतका विषयमा घटनाका बारेमा छानबिनमा समितिको प्रतिवेदन नआउञ्जेलसम्मका लागि निमित्त कार्यालय प्रमुखबाट कार्यालयको दैनिक सेवा सुचारु गर्ने । छानबिनको प्रतिवेदन आइसकेपछि छानबिन समिति र दुवैतर्फका वार्ता टोलीको बैठक बसी समस्या समाधानका विषयमा पुनः छलफल गरी निर्णय गर्ने । छानबिन प्रक्रियालाई थप प्रभावकारी बनाउन छानबिन समितिमा विज्ञ सदस्यको रुपमा आन्दोलनरत पक्षका तर्फबाट शिव कुमार राई र तेजमान विकलाई जिम्मेवारी दिने र अन्य विविध विषयहरुमा छलफललाई निरन्तरता दिँदै कार्यालयको ढोकामा लगाइएको ताला खोली कार्यालयको दैनिक सेवा प्रवाहलाई सहज गर्ने सहमति गरिएको छ ।’
नगरपालिकाका कर्मचारीको गम्भीर लापरबाहीका कारण नगरपालिकामा आन्दोलनरत पक्षले ताला बन्दी गरेका थिए भने शुक्रबार कर्मचारी स्वयमले कार्यालय बन्द गरेर बसेका थिए । तर प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम घिमिरेले भने गैरजिम्मेवार अभिव्यक्ति दिँदै आफुलाई नगरपालिकाको कुनै पनि घटनाको जानकारी नभएको भन्दै पन्छिन खोजेका थिए । प्रमुख प्रशासकीय अधिकृत घिमिरेको गैरजिम्मेवार अभिव्यक्तिले पनि रोजगार सहायक (सेवा करार) पदको नियुक्तिमा शङ्कास्पद गतिविधि भएको होकी भन्ने आशंका व्यक्त हुन थालेको थियो ।
बेलका नगरपालिकाले शुक्रबार नगरपालिकामा नगरप्रमुख अशोक कार्की, उपप्रमुख जिरा राई, नौ वटै वडाका वडा अध्यक्षसहितको बैठकबाट उपप्रमुख जिरा राईको संयोजकत्वमा तीन सदस्सीय छानबिन टोलीसमेत गठन गरेको थियो । टोलीमा वडा नम्बर ३ का अध्यक्ष टंक आचार्य र वडा नम्बर ९ का अध्यक्ष भरत घिमिरे रहेका छन् ।












प्रतिक्रिया