
पोखरा, २१ पुस । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामै आयोजित आफ्नो पार्टीकै विभिन्न कार्यक्रममा सक्रिय सहभागी रहेका छन् ।
शनिबार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिबार पार्टीको भातृ संस्था नेपाल मुस्लिम संघको भेला, नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट विजयी जनाप्रतिनितिधिहरुसँगको अन्तरक्रिया कार्यक्रम सहभागी भए । उनी आज पनि नेपाली कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरुमा सहभागी हुने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री थापा आफ्नो पार्टीको कार्यक्रममा सहभागी भइरहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरु सशंकित देखिएका छन् । उनीहरु महामन्त्री थापा कास्की जिल्ला अदालतमा चलिरहेको सूर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको भन्दै सशंकित बनेका छन् ।
उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापा बसेको पोखराको लेकसाइडस्थित बरपीपल होटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरुले निगरानीमा राखेको सामाजिक सञ्जालमा जानकारी दिएका छन् । उनीहरुले नेपाली कांग्रेसका महामन्त्री थापाले को–कसलाई भेट गरेका छन् भन्ने बारेमा आफ्ना पार्टीका कार्यकर्ताहरुले निगरानी गरिरहेको बताउदै मुद्दासँग सम्बन्धित पक्षको महामन्त्री थापासँग भेट भएमा फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी पनि दिएका छन् । उनीहरुले न्यायसँग सम्बन्धित पक्ष पनि महामन्त्री थापालाई भेट्न आउने पो हुन् कि भनेर आशंका गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरुले दुई दिन अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पोखरा आएर बरपीपल होटलमै बसेको जानकारी दिएका छन् ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा व्यापक चहलपहल हुन थालेको छ । मुद्दाको थुनछेक बहसमा भाग लिन कानून व्यवसायीहरु पोखरा आएका छन् । यसैक्रममा सूर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।









प्रतिक्रिया