२ असार २०८३, मंगलबार

पत्रकार पुडासैनीको अन्त्येष्टि

420
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २० पुस । हृदयघातका कारण निधन भएका नुवाकोटको बेलकोटगढी नगरपालिका–९ निवासी पत्रकार श्यामसुन्दर पुडासैनीको आज अन्त्येष्टि गरिएको छ ।

काठमाडौंको कपनस्थित कोठामा शुक्रबार राति १० बजे अचेत भएका ३३ वर्षीय पत्रकार पुडासैनीलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पतालमा पुर्‍याएलगत्तै निधन भएको थियो । शिक्षण अस्पतालमा शवको परीक्षणपश्चात् उनलाई तादी र त्रिशूली नदीको सङ्गम देवीघाट नुवाकोटमा अन्त्येष्टि गरिएको हो ।

दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा नेपाल पत्रकार महासंघ नुवाकोट जिल्ला शाखाका अध्यक्ष नमराज सुवेदीसहित जिल्लास्थित पत्रकार, शुभचिन्तकलगायत व्यक्तिले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

नेपाल भ्युज अनलाइनमा कार्यरत पुडासैनी शुक्रबार कार्यालयको काम सकेर कपनस्थित आफ्नो निवासमा फर्केलगत्तै हृदयघातका कारण अचेत भएका थिए ।

नुवाकोटबाट तेह्र वर्षअघि पत्रकारिता सुरु गरेका उनी यस अवधिसम्म एक दर्जनभन्दा बढी छापा, रेडियो, टिभी र अनलाइन माध्यममा आबद्ध भएर जोखिमपूर्ण खोज पत्रकारितामा सक्रिय रहँदै आएका थिए ।